नेपाललाई विश्व बैंकले १६ अर्ब दिने, कुन क्षेत्रमा हुँदैछ खर्च ?

  २०७६ मंसिर १० गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालको विकास निर्माणमा सघाउँदै आएको विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १३ अर्ब ६३ करोड (१२ करोड अमेरिकी डलर) सहयोग गर्न लागेको हो ।

विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनको लागि बैंकले २ अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । भोलि बुधबार अर्थ मन्त्रालय र विश्व बैंकबीच सो सहायता रकम स्वीकार्ने सम्बन्धि सम्झौता हुँदैछ ।

हाल बैंकले नेपालमा करीब २ अर्ब ७० करोड डलर अर्थात २ खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न परियोजनामा गरिरहेको छ । नेपालमा विश्व बैकको सहयोगमा करिब २ दर्जन परियोजना सञ्चालनमा छन् । नेपालको शिक्षा स्वास्थ्यदेखि पूर्वाधार निर्माणमा समेत सघाउँदै आएको विश्व बैंकले पछिल्लो समय नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बर बढाउने रणनीति बनाएको छ । विश्व बैंकले पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत सहायता रकम बढाउन लागेको हो ।

सन् २०१९ देखि बैंकले नेपाललाई उपलब्ध गराउने सहयोग रकम चालु वर्षको भन्दा दोब्बर हुने अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि नै बताइ सकेका छन् । २०१९ देखि २०२३ सम्म हुने सहायता रणनीतिको खाकाअनुसार नेपालको प्राथमिकताअनुरूप कार्यक्रमहरू कार्यान्वयनमा सहयोग रकम आउने अर्थ मन्त्रालयले बताएको छ ।

पछिल्लो समय विश्व बैंकसँग नेपालले केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजिरहेको छ । स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र र प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा पनि नेपालले विश्व बैंकसँग छलफल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.