थप २ बन्दरगाह प्रयोग गर्न दिन भारतसँग माग, पानीजहाज सञ्चालनमा सम्झौता हुँदै

  २०७६ मंसिर १० गते १३:५२     विकासन्युज

काठमाडौं । नेपालले भारतसँग थप २ ओटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने माग गरेको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा नेपालले भारतसमक्ष मुन्द्रा र धाम्रा बन्दरगाह प्रयोग गर्न दिन माग गरेको हो । मुन्द्रा गुजरातको बन्दरगाह हो भने धाम्रा उडिसा राज्यको सामुन्द्रिक बन्दरगाह हो ।

अहिले नेपालले पश्चिम बंगालको कलकत्ता बन्दरगाह, पश्चिम बंगालकै हल्दिया बन्दरगाह र आन्द्र प्रदेशको विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भएको छ तर अहिलेसम्म पनि कोलकत्ता बन्दरगाह नै मूलतः प्रयोग हुँदै आएको छ । तर यी दुई बन्दरगाह प्रयोग पायो भने महेन्द्रनगर नाका र विराटनगर नाकाबाट आयात निर्यातको अवस्था थप बढ्नेछ ।

त्यसका साथसाथै नेपालले भारत समक्ष पानीजहाज सञ्चालन गर्न दिन समेत माग गरेको छ । नेपालले ठूला नदीहरुमार्फत् नेपाली सीमासम्मै पानीजहाज चलाउन सक्नेगरी भारतका नदीहरुको उपयोग गर्न दिन माग गरेको हो । यो विषयमा भारत सैद्धान्तिक रुपमा सहमत भए पनि त्यसलाइृ कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विस्तृत छलफल हुन सकेको थिएन ।

त्यस्तै नेपालले भारतसमक्ष विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) प्रणाली सञ्चालन गर्न समेत माग गरेको छ । यसले तारत बाहेकका तेस्रो मुलुकबाट आउने कन्टेनरहरु बिना रोकतोक नेपाल प्रवेश गराउने बाटो खुल्नेछ जसले गर्दा नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि सहज हुने र पहुँच विस्तार हुनेछ ।

पारवहन सन्धि पुनरावलोकनले नेपाल भारत व्यापारमा समेत सहजीकरणमा हुनेछ । सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने गरी मंगलबार बिहान काठमाडौंमा बैठक सुरू हो । बैठकमा नेपाली टोलीमा वाणिज्य सहसचिव नवराज ढकालको नेतृत्वमा यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव लगाएत १० सदस्यीय सहभागी छन् । भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लसहित ७ सदस्यीय टोली सहभागी छन् । बैठक बुधबार सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.