स्मार्ट मिटर प्रतिस्थापनमा तिव्रता, रत्नपार्क र महाराजगञ्जका एक लाख घरमा जोडिँदै

  २०७६ मंसिर १० गते १०:१६     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान कार्यक्रममा तिब्रता दिएको छ । प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्नका लागि सर्वेक्षणमा तिब्रता दिएको हो । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका घरहरुमा स्मार्ट मिटर जडान गर्ने कार्यक्रमका साथ घरहरुमा सर्वेक्षण गर्ने कार्यमा तिब्रता दिएको हो ।

प्राधिकरणका प्रवक्ता प्रविण अधिकारीले स्मार्ट मिटरिङ जडान गर्ने कार्यक्रममा तिब्रता दिएको बताए । प्राधिकरणले रत्नपार्क र महाराजगञ्जका करिब एक लाख उपभोक्ताहरुको घरमा स्मार्ट मिटर जोडिने बताए । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकार र एशियाली विकास बैैंकको संयुक्त लगानीमा काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनामार्फत रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रहरुमा स्मार्ट मिटर जडान गर्दैछ ।

रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आगामी वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ । ग्राहकहरुको लागि स्मार्ट मिटर जडान गर्न ठेकेदार पिङगाओ विस्डम जोइन्ट भेन्चर सँग ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको छ ।

ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू हुने उनले बताए । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ ।

यसबाट वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने अधिकारीको भनाइ छ । कुनै ग्राहकले बदमासी गरेपनि कार्यालयबाटै निगरानी गर्न सकिने उनले बताए ।  महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको वितरण प्रणालीलाई भूमिगत बनाउने काम अगाडि बढेको अधिकारीको भनाइ छ ।

उनले विस्तारै काठमाडौं उपत्यकाभरिनै स्मार्ट मिटर जडान गर्ने काम गर्ने बताए ।  स्मार्ट मिटरिङ लागुपछि टेलिकमका उपभोक्ताले जस्तै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने बताइएको छ ।  अहिले टेलिकमका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घरघरमा जाने गरेका छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ ।

यो डिभाइसमा टु वे कम्युनिकेशन अर्थात दोहोरो सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकणको केन्द्रिय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरिङ गरिरहेको हुन्छ ।  उपभोक्ताले बिल तिरेको नतिरेको छिनभरमै प्राधिकरणको केन्द्रिय प्रणालीलाई थाहा हुन्छ । विकशिल देशहरुमा पछिल्ला वर्षमा स्मार्ट मिटरको प्रयोग बढ्दै गएको छ ।

यस्तो मिटर जडान गरेपछि उपभोक्ता र विद्युत बिक्रेता प्राधिकरण दुबैलाई सजिलो हुनेछ ।  स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकोले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबाफत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् । स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचारी घरघरमा आएर मिटर हेरेर बिल काट्नु पर्ने बाध्यता हट्नेछ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन् भन्ने सही र रियलटाइम तथ्याकं पाउनेछ ।

देशभरका ८ हजार टिओडी मिटरमा स्मार्ट मिटर

नेपाल विद्युत प्राधिकरणले देशभरका ८ हजार उद्योग तथा कलकारखानाका टिओेडी (टाइम अफ डे) मिटरमा स्मार्ट मिटर जडान गरिसकेको छ । प्राधिकरणले देशभरका उद्योगी, व्यापारीलगायत बढी विद्युत खपत गर्ने ग्राहकको मिटरमा स्मार्ट प्रविधि जोड्न सुरु गरि ८ हजारको आवासमा जडान गरिसकेकाे बताएको हो ।

‘वितरण प्रणालीलाई डिजिटल बनाउन स्मार्ट मिटर जडान सुरु गरेका छौं,’ अधिकारीलेले भने,‘ १० हजार डिओटी मिटरमा स्मार्ट प्रविधि जोडिनेछ ।’ अहिले टिओडी मिटर जडान गर्ने प्राधिकरणका १० हजार ग्राहक छन् । धेरै विद्युत खपत गर्ने ग्राहकले डिओडी मिटर जडान गरेको प्राधिकरणले जनाएको छ ।

यो वर्गका ग्राहकले विद्युत खपत गरे बापत बिहान बेलुका, हिउँसो र राती फरक समयको फरक महसुल तिर्दै आएका छन् ।  टिओडी तथा थ्रीफेज मिटरमा स्मार्ट प्रविधि जडान भएपछि वितरण प्रणाली पारदर्शी हुने प्राधिकरणको दाबी छ । अनियमितरुपमा भइरहेको विद्युत चुहावट पनि नियन्त्रण हुनेछ । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.