मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै

  २०७६ मंसिर ९ गते १२:४२     विकासन्युज

काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ ।

आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो ।

नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ ।

मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् ।
होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो ।

२०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो ।

नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ ।

वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए ।

‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.