मासिक डेढ लाखको जागिर छोडेका युवा ६ अर्बको बजारमा जम्दै, १० वर्षकाे वारेन्टीसहित नयाँ उत्पादन ‘सिल्कवेयर’

  २०७६ मंसिर ८ गते १०:१८     विकासन्युज

राजन झा, निर्देशक- जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लि.

छोटो अवधिमा ग्लोवल आईएमई बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक हुँदै प्रोगे्रशिभ फाइनान्स लिमिटेडको डेपुटी सीईओ बनेका थिए राजन झा । मासिक करिब डेढ लाख रुपैयाँ तलब थियो । जागिर खानेहरुको लागि रोजाईको क्षेत्र बनेको बैकिङ क्षेत्रमा अझै उनले ३० औं वर्ष काम गर्न सक्थे ।

लण्डनबाट एमबीए गरेका झा वाणिज्य बैंकमा सीईओ बन्ने सम्भावना छँदै थियो । सबैलाई थाहा भएकै विषय हो वाणिज्य बैंकहरुको सीईओले वार्षिक २÷३ करोड रुपैयाँ बराबर तलब सुविधा पाउँदै आएका छन् । तर झा यो संसारमा रमाउन सकेनन् ।

धेरै नेपाली युवामा जागिर छोडेर उद्यमी तथा व्यवसायी बन्ने चाहाना बढेको छ । त्यस मध्येका एक हुन् राजन झा । उनी बैकिङ क्षेत्रबाट बाहिरिए । उनी अहिले उद्योग तथा व्यापारको क्षेत्रमा जम्दैछन् । उनी हाल जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लिका निर्देशक हुन्, पुँजी लगानीसहित । जोनसन इन्टरनेशनलले सिल्कवेयर ब्राण्डका धारा तथा फँसिट्, स्यानीटरी, एक्सेसरी उत्पादन गर्दैछ भने इन्टरनेशनल सिमेन्ट प्रा.लिले ओम सिमेन्ट उत्पादन गर्छ ।

सेवा तथा व्यापारजन्य व्यवसाय भन्दा उद्योग चलाउनु नेपालको लागि कठिन मानिन्छ । तर उनी त्यसलाई ‘हेर्ने नजर’ हो भन्छन् । ‘उद्योग व्यवसायबाहेक मोटिभेटर पनि हुँ । सकारात्मक सोचका साथ हेर्ने हो भने नेपालमा औद्योगिक क्षेत्रको सम्भावना धेरै छ’ उनले भने । उद्योग नै रोज्नुको कारणबारे उनले भने ‘बैदेशिक व्यापार घाटा धेरै नै छ । त्यसलाई कम गर्न औद्योगिक विकास हुनैपर्छ ।’ उद्योगमा पैसासँगै पहिचाहन पनि जोडिएको उनले बताए ।

चट्याङ मास्टरको व्याङ्ग्यात्मक कवितामा भनिएको छ ‘उद्योग नखोल बाबु, पार्टी खोल’ । त्यसमा यो देशमा उद्योगीहरुले भोग्नु परेको पीडा व्यक्त गरिएको छ र नेपालमा उद्योग चलाउनु सबैभन्दा गाह्रो कामको रुपमा चित्रण गरिएको छ । तर उद्यमी राजन झा उद्योग खोलेकोमा, उद्यमी भएकोमा रमाउँछन् । ‘नेपालमा भन्दा सिरियामा बहुत धेरै गाह्रो छ विजनेश गर्न । इरानमा झन् गाह्रो । त्यहाँ भन्दा नेपालमा व्यवसाय गर्न धेरै सजिलो छ ।’

उनी परिभाषामा गए । ‘उद्यमशिलता भनेको साहासिक काम हो । जोखिम लिनुपर्छ । व्यवस्थापन राम्रो हुनुपर्छ । तत्कालिन र दीर्घकालिन योजना, नीति, रणनीति लिनुपर्छ’ छोटकरीमा बताए ।

राजन झा उद्योग क्षेत्रमा संलग्न भएको एक वर्ष मात्र भयो । तर उनलाई लाग्दैन कि यो क्षेत्र मेरो लागि नयाँ छ । भन्छन्–‘बैकिङ क्षेत्रमा बसेर मैले उद्योग व्यवसायलाई राम्ररी हेरेको छु । ओल्टाईपल्टाई हेरेको छु । शून्यबाट ठूलो उद्योग भएको पनि हेरेको छु । ठूलो उद्योग शून्यमा झरेको पनि देखेको छु । बैंकका ऋणिहरु को कहाँ चुके, हामी बैंकमा बसेर राम्ररी देखेका छौं ।’

विश्वविद्यालयका प्राध्यापकले राजनीति सिकाउँछन् तर राजनीति गर्न वा सत्ता चलाउन जान्दैनन् । समाचार कसरी लेख्ने भनेर पत्रकारका गुरुहरुले सिकाउँछन् तर उनीहरु आफै गज्जब राम्रो समाचार लेख्न सक्दैनन्, जान्दैनन । बैंकर्सले कसरी उद्योग चलाउन सक्छ ? हामीले प्रश्न गर्यौ ।

प्रश्नमा उद्यमी झा सहमत भए । र, थपे–‘नजरिया पनि हो । हामीले विश्लेषण गरेका छौं । मैले मेरो क्षमता बुझ्ने प्रयास गरेको छु । जे सोच्छौं, त्यो गर्न सक्छौं । थ्याङ्स गड (भगवानलाई धन्यवाद) । एक वर्षमा मैले जे गर्न प्रयास गरे, त्यसमा म सफल भएँ ।’ मौका मिलेसम्म अरुलाई उत्प्रेरणा दिने झाले आफैलाई प्रेरित गरे । ‘आफूलाई बुझौ । भ्रमबाट बाहिर निष्कौं । विनासर्त खुशी हुने प्रयास गरौं ।’

सिमेन्ट उद्यमी
राजन झा इन्टरनेशनल सिमेन्ट प्रा.लिका सञ्चाकल हुन् । एक वर्ष भयो ओम सिमेन्टको सञ्चालक भएको । विरगञ्जमा रहेको यो उद्योगले ओम ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भएको छ । यो अवस्थामा आएको नयाँ कम्पनीले राम्रो नतिजा दिईरहेको छ’ उनले भने ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगको क्षमता छ । ओपीसी, पीपीसी सहित दैनिक करिब १० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उनले जानकारी दिए ।

निर्माण क्षेत्रका काम बन्द जस्तै छ । सिमेन्ट र स्टीलको बिक्री घटेको छ । मूल्य पनि घटेको छ । तर झा निरास छैनन् । सरकारले बिटुमिन सडकको सट्टा कंक्रिट सडक बनाउन जोड दिने हो सिमेन्ट तथा स्टील उद्योग फस्टाउने उनको तर्क छ । भारत लगायत विकसित देशमा पनि कंक्रिट रोडको प्रयोग बढ्दैछ । यस्तो सडकको आयु पनि बढी हुन्छ । त्यस्तै, वायु प्रदुषण कम हुन्छ । यस्तो सडकमा गुड्ने सवारीको टायरको आयु भने छोटो हुनेछ ।

‘सिमेन्ट उद्योगको लागि तत्कालका लागि केही कठिन छ तर भविष्य राम्रो देख्छु’ उनी आशावादी भए ।

सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा विदेशी लगानीको विरोध गरिरहेको छ । विदेशी लगानीले नेपालीको लगानी जोखिममा परेको धारणा पनि आईरहेको छ । राजन झा पनि यस संघको कार्यसमितिको सदस्य हुन् । भन्छन्–‘नेपालीहरुको लगानीले नै सिमेन्ट उद्योगमा हामी आत्मनिर्भर भएका छौं भने विदेशी लगानी आवश्यक पर्दैन ।’ ढुवानी लागत बढी हुने भएकोले सिमेन्ट निर्यात गर्न पनि नसकिने उनले बताए ।

दुई वर्षअघि ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ९०० रुपैयाँ माथि थियो । पीसीसी सिमेन्टको मूल्य ८०० भन्दा माथि थियो । अहिले ओपीसी ७०० र पीसीसी ६०० रुपैयाँमा झरेको छ । प्रतिस्पर्धाले उपभोक्तालाई लाभ पुगेको छ तर अवस्था यहि रह्यो भने सिमेन्ट उद्योगमा लगानी भएको पुँजी डुब्ने उनको बुझाई छ ।

ध्यान ६ अर्बको बजारमा केन्द्रीत

युवा उद्यमी झा सिमेन्ट उद्योगमा मात्र सीमित छैनन् । उनले ‘सिल्कवेयर’ ब्राण्डका धारा उत्पादन थालेका छन् । घर तथा अफिसका किचेन, वासरुम, वाथरुममा प्रयोग हुने धाराहरु बजारमा ल्याईसकेका छन् ।

‘हामीले काम थालेको ३ वर्ष भयो । जोनसन इन्टरनेशनलले उत्पादन गरेको सिल्कवेयर बजारमा उपलब्ध भईसकेको छ । औपचारिक रुपमा सार्वजनिक गरिएको छैन’ उनले भने–‘जोनसन इन्टरनेशनलले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाइसकेको छ ।’ सिल्कवेयर ब्राण्डका सामानमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको, १० वर्षभन्दा अघि बिग्रियो भने ७२ घण्टाभित्र नयाँ दिएर पुरानो फिर्ता लिने सुविधा ग्राहकलाई दिएको उनले बताए ।

जापानीज टेक्टोलोजिमा स्पाण्डल बनाईएको, जर्मन टेक्नोलोजिमा यसका जाली बनाएको यी धारा नेपाली भएपनि उच्च गुणस्तरको भएको उनले बताए । ७०० देखि ८००० रुपैयाँ पर्ने धाराहरु बजारमा उपलब्ध रहेको उनले जानकारी दिए । विरगञ्जमा उद्योग भए पनि यो उत्पादन देशभर बिक्री गर्न सकिने झाले बताए ।

नेपालमा खपत हुने सबै धारा विदेशबाट आयात हुन्छन् । नेपाली उत्पादन सिल्कवेयर मात्र हो । ‘हामीले आयातलाई पूर्णत विस्तावित गर्न समय लाग्छ तर हामी छोटो अवधिमा बजारमा विश्वास जित्नेछौं’ झाले भने । विदेशबाट आउने जुनसुकै प्रडक्टसँग प्रतिष्पर्धा गर्न सिल्कवेयर सक्षम हुने उनले बताए ।

बाथरुममा प्रयोग हुने स्यानीटरी, फँसिट्, एक्सेसरी सामानको बजार वार्षिक ६ अर्ब रुपैयाँ भन्दा बढीको भएको उनको अनुमान छ । यी सबै सामान उत्पादन गर्ने क्रममा रहेको उनले बताए । सबै सामान उत्पादन भईसकेपछि बजारिकरण गर्ने उनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.