भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु

  २०७६ मंसिर ६ गते १२:१०     विकासन्युज

बलेवा । बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो ।

यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सन पट्टा दाखिलाको काम मात्रै हुनेछ ।

एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप कम देखिएको हो । क्याम्प मङ्सिर १३ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी पूर्णबहादुर थापाले जानकारी दिएका छन् ।

सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट विगतमा करिब ८० करोड रकम वितरण हुन्थ्यो तर गत वर्षदेखि बैंकको खातामै रकम जम्मा हुने भएकाले यसपालि रकम वितरण भने क्याम्पमा हुनेछैन । सैनिक बोर्डका अनुसार साबिकको धौलागिरि अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन् ।

केहीले पछिल्लो सयम बैंकबाटै पेन्सन बुझ्ने गरेका छन् । वर्षमा दुई पटक हुने गरेको क्याम्पले चहलपहल बढ्ने गरेको बागलुङ बजारमा यस वर्ष भने सामान्य चहलपहल देखिएको छ । तर क्याम्पमै रकम वितरण हुँदाको जस्तो आर्थिक कारोवार भने नभएको व्यवसायीहरु बताउँछन् ।

भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकाश प्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया थालिएको छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने बैंकमा समेत लाइन लाग्ने गरेका छन् ।

“हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन रकम खातामा आउँछ”, थापाले भने, “खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।” पेन्सन खातामा जम्मा भएको रकममा ब्याजसमेत प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.