बीमा कम्पनीकाे आईपीओको बाढी आउँदै, ९ अर्बकाे शेयर निष्कासनकाे तयारी

  २०७६ मंसिर ६ गते ११:०८     विकासन्युज

काठमाडौं । अबको केही महिनामा बीमा कम्पनीहरूमा आईपीओको बाढी आउने भएको छ । हाल आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका कम्पनीबाट करिब ९ अर्ब रुपैयाँ मूल्य बराबरको आईपीओ बजारमा आउने भएको हो ।

नयाँ बीमा कम्पनीहरूले धमाधम आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको बीमा समितिले जानकारी दिएको छ । सिफारिसको लागि समितिमा डकुमेण्ट आइसकेको छ । कम्पनीकाअनुसार सो निष्काशन कार्य अन्तिम चरणमा पुगेको छ ।

जीबन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनी समेत गरी बीमा क्षेत्रबाट करिब ९ अर्ब रुपैयाँको आईपीओ आउने तयारीमा छ । अघिल्लो वर्ष मात्रै लाइसेन्स पाएका १० बीमा कम्पनीहरूको ६ अर्ब २८ करोड ५० लाख बराबर, निर्जीवन बीमा कम्पनीका तर्फबाट ९० करोड र नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६० करोड समेत गरी कुल ८ अर्ब ७८ करोड ५० लाख रुपैंयाँ बराबरको आईपीओ निष्कासन हुन लागेको हो ।

हाल नयाँ जीवन बीमा कम्पनीहरुको कुल चुक्तापुँजी १४ अर्ब ६६ करोड ५० लाख तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब १० करोड छ । यो पुँजीलाई ७० प्रतिशत मान्दा थप ३० प्रतिशत आईपीओ ल्याउँदा उक्त परिमाणमा आईपीओ आउने भएको हो ।

नेपाल पुनर्बीमा कम्पनी भने सरकारी लगानी समेतको कम्पनी भएकोले यसलाई ७०ः३० को अनुपातमा आईपीओ निष्कासन गर्नुपर्ने बाध्यता छैन । त्यसैले उसले १६ प्रतिशतले हुने १ अर्ब ६० करोड रुपैंया बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

बैकहरूको आईपीओ बिक्न मुस्किल भएको बेलामा निस्कन लागेको बीमा कम्पनीहरूको आईपीओले बजारमा कस्तो असर पार्ला त्यो भने हेर्न वाँकी नै छ । लगातार आईपीओ आउनुभन्दा करिब ६ महिनाको अन्र्तरालमा आउन उपयुक्त हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले जानकारी दिएका छन् । । यस्तो अवस्थामा कम्पनीहरूले अगाडी पछाडी गरेर आईपीआ निष्काशन गर्नु उचित हुनेछ ।

जीवन तथा निर्जीवन दुबैतर्फका बीमा कम्पनीहरू आईपीओ निष्काशन गर्ने अन्तिम चरणमा पुगेका छन् । आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक इस्यू म्यानेजरहरूसँग कम्पनीहरूले सम्झौता गरिसकेको बीमा समितिले जनाएको छ । सो आईपीओमा निष्काशन गर्नेमा नेपाल पूनर्बीमा कम्पनी (नेपाल री) समेत रहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ रामेश्वर श्रेष्ठले भने अहिले नयाँ आएका १० जीवन बीमा कम्पनीहरूले आईपीओका तयारी गरिरहेका छन् । तर महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भने अर्को वर्ष मात्र आईपीओ आउने जानकारी दिए ।

आईपीओ निष्काशन गर्दा बिक्छ नै भन्ने कुराको कुनै ग्यारेटी भने छैन । यद्यपि एकै समयमा भन्दा केही फरक समयमा आईपीओ निष्काशन गर्न सकेमा शेयर लगानीकर्ताको आकर्षण नघट्ने विज्ञहरुरूको बुझाइ छ ।

केहीले भने आईपीओ निष्काशनमा ठूलो समस्या नरहेको बताए । कानुन सम्मत रुपमा आईपीओको निष्काशन हुने भएकाले एकै पटक बजारमा आउनु वा फरक समयमा आईपीओ आउनु ठूलो विषय नभएको बताइएको छ ।

लगानीकर्ताहरुले समेत शेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न आवश्यक रहेको तर्क गर्दै आएका छन् । साथै, बीमा कम्पनीहरूको आईपीओमा समेत लगानीकर्ताहरू आकर्षित हुनसक्ने सम्भावना रहेको छ ।

कानुनी रुपमा बीमा कम्पनीहरूले आईपीओ निष्काशन गर्नका लागि एक आर्थिक वर्ष कारोबार गरिसकेको हुनु पर्नेछ । बीमा क्षेत्रमा कान्छो बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आईपीओ यस आवमा ल्याउन नसक्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.