हाइड्रो पावर प्रभावः टुकी विस्थापनदेखि औद्योगिक विकाससम्म

  २०७६ मंसिर ६ गते ९:५९     सन्तोष रोकाया

काठमाडाैं । एउटा समय थियो । एउटा सानो भाँडो अर्थात टुकीमा मट्टीतेल राखेर त्यसमा सलेदो सल्काउँदै घरलाई उज्यालो बनाउने । घरलाई उज्यालो पार्ने टुकी एउटा साधन थियो त्यो समयको । टुकीको उज्यालो भने सीमित क्षेत्रका लागि थियो नकि अहिलेको विजुलीको जस्तो झलमल्ल ।

अहिले सायद त्यो समय धेरैलाई एकादेशको कहानी जस्तो पनि लाग्न सक्छ । मानिसहरुको लागि रातलाई उज्यालो बनाउने साधन त्यतिखेर टुकी सिवाय अरु केही थिएन ।

हाइड्रो उद्यमी ज्ञानेन्द्रलाल प्रधान त्यतिखेरको समयलाई सम्झिएर भन्छन्,–‘वर्तमान अवस्थालाई त्यो समयसँग तुलना गर्ने हो भने त नेपालका लागि हाइड्रोकोे यो स्वर्णिम युग हो ।’ हामी धेरै माथि पुगिसकेका छौं र अझै धेरै विद्युत उत्पादन गरेर देशको आर्थिक अवस्थालई मजबुत बनाउन सक्ने उनी बताउँछन् ।

टुकी लाल्टिन र सोलार हुँदै नेपालले विद्युत बाल्दै आएको पनि एक शताब्दी भन्दा बढी भइसकेको छ । वि.स १९६८ मा काठमाडौं उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत आयोजना निर्माण भएसँगै नेपालको जलविद्युत क्षेत्रको इतिहास शुरु भयो ।

एसियाकै दोस्रो र नेपालको प्रथम जलविद्युत आयोजना हो फर्पिङ लघु जलविद्युत आयोजना । जसले नेपालमा जलविद्युत उत्पादन इतिहासकोे श्रेय पाउँछ । बेलायत सरकारको आर्थिक सहयोगमा निर्मित उक्त आयोजनाको कुल लागत सात लाख १३ हजार रुपैयाँ रहेको थियो । त्यससँगै नेपाल सरकारकै लगानीबाट वि.स १९९२ मा ६४० किलोवाटको सुन्दरीजल जलविद्युत आयोजना निर्माण भयो ।

यी विभिन्न कालखण्डहरु पार गर्दै नेपालमा जलविद्युत उत्पादन पनि बढ्दै गयो । सरकारले जलविद्युत उत्पादन तथा निर्माण थालेको लगभग ८३ वर्षपछि मात्रै निजी क्षेत्रले जलविद्युत आयोजना निर्माण गर्न पाउने अवस्था सिर्जना भयो । त्यतिखेर देशका केही प्रमुख सहरहरुले विद्युतको सेवा पाइसकेका थिए ।

ग्रामिण भेगमा भने त्यतिसम्म पनि टुकी बाल्ने चलन ब्याप्त थियो । हुन त अहिले पनि सुदूर र कर्णालीका दुर्गम तथा विकट भेगमा विद्युतको पहुँच छैन । तर त्यहाँ विद्युतको विकल्पको रुपमा सोलारले काम गरिरहेको छ ।

सहरहरुमा विद्युत सेवाको पहुँच भएसँगै देशमा विभिन्न उद्योगधन्दाहरु खोल्ने क्रम पनि बढ्यो । वि.स १९९३ मा विराटनगर जुटमिल स्थापना भयो । जुन देशकै पुरानो र पहिलो उद्योग हो । त्यससँगै नेपालमा विभिन्न प्रकृतिका उद्योगहरु खोलिने क्रम बढ्यो । विभिन्न प्रकृतिका उद्योगहरु खुल्ने क्रम बढेसँगै जलविद्युतसँग सम्बन्धित उद्योगहरु पनि क्रमिक बढ्दै गए ।

पचासको दशकमा जलविद्युत परियोजनाहरुलाई निजी क्षेत्रले पनि निर्माण गर्न सक्ने वातावरण सिर्जना भएसँगै जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । हाल निजी क्षेत्रले पनि सरकारले उत्पादन गरेकै क्षमता अनुसारको विद्यतु उत्पादन गर्न सफल भएको छ ।

हाइड्रोले जन्माएका उद्योगहरु

नेपालमा जलविद्युत उत्पादन हुन थालेको १०८ वर्ष भइसकेको छ । यो एक शताब्दीको अवधिमा नेपालले जलविद्युतमा उल्लेख्य प्रगति नगरेपनि धेरै उद्योगधन्दाहरु खोल्न भने मद्दत ग¥यो । विभिन्न क्षेत्र र प्रकृतिका उद्योगहरु सँगसँगै जलविद्युतलाई सपोर्ट गर्ने खालका उद्योगहरुले पनि अहिले नेपाली बजार तताएका छन् ।

हाल देशको आर्थिक वृद्धिको प्रमुख मेरुदण्डका रुपमा जलविद्युतलाई लिइने गरिएको छ । जलविद्युतसँगै यसका सपोर्टर उद्योगहरुमा ट्रान्सफर्मर, केबुल तार, बिजुली पोल, स्टिल, तार, बल्ब र पाइप, सिमेन्ट लगायतका उद्योगहरु सञ्चालित छन् ।

हाल देशकमा जलविद्युतको क्षेत्रमा काम गर्दै आएका नीक र ट्रान्सवेल्ड गरी दुई ट्रान्सफर्मरहरु छन् । यस्तै केबुल तार उत्पादन गर्ने पनि २४ वटा छन् भने करिब १२० वटा सिमेन्ट उद्योगहरु छन् । यिनीहरुले हाल जलविद्युतका लागि आवश्यक सामाग्रीहरु उत्पादन गर्दै आएका छन् ।

विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले हाल नेपालमा जलविद्युतसँग सम्बन्धित सामाग्री उत्पादन गर्ने उद्योगहरु धेरै भएपनि बजारका माग अनुसारको सप्लाई गर्न नसकेको बताउँछन् । हाल नेपालमा उत्पादन हुने सामाग्रीहरु कम क्षमताका भएकाले पनि ठूला क्षमताको जलविद्युतलाई आवश्यक सामान उत्पादन गर्न नसकिरहेको अनुभवी व्यवसायीहरु बताउँछन् ।

‘हाइड्रो कम्पनीले सामान सस्तो र गुणस्तरीय चाहन्छन्’ उनले भने, विदेशी सामान ल्याउँदा एक प्रतिशत भन्सार महसुल हुन्छ, विदेशी सामानभन्दा नेपाली सामान १० प्रतिशत महँगो हुने गरेको छ त्यसैले पनि सबै गुणस्तरीय र सस्तो हेरेर धेरै जस्तो कम्पनी विदेशबाट सामान आयात गर्ने गरेका छन ।’

नेपालमा जलविद्युतका सामानहरु बढीजसो भारत र चीनबाट आउने गर्दछ । हाल जलविद्युत निर्माणका क्षेत्रमा आवश्यक रहेको विष्फोटक पदार्थ नेपाल आर्मीले उत्पादन गर्दै आएको छ । सिंहले भने–‘नेपाल आर्मीको भरमा पर्ने हो भने नेपालका कुनै पनि परियोजनारु निर्माण हुँदैनन् ।’

तर नेपाल इलेक्ट्रिक म्यानुफ्याक्चर एसोसिएसनका महासचिव सुबोध खनालले नेपालका उद्योगहरुले बजारको मागअनुसारको सामान सप्लाई गर्न सकेको दावी गरे । तर हाइभोल्टेजका सामानहरु नेपालका उद्योगहरुले निर्माण नगर्ने भएका कारण पनि प्रमोटरहरुले विदेशबाट सामान मगाउने गरेको उनले बताए ।

साना परियोजनाका लागि मात्र सामान उत्पादन गर्नसकेको उनले बताए । हाल नेपालका उद्योगहरु ४ सय केभीसम्मको लागि तयार गर्न सक्षम भएको उनले बताए । यस्तै केबुल लो भोल्टेज (११ सय ) का केबुल तारहरु पनि उत्पादन गर्दै आएका छन् । यस्तै बिजुलीका लागि पनि बल्ब तारहरु पनि भारत र चीनबाट आयात हुँदै आएको छ ।

नेपालले हाल वार्षिक ३ अर्ब रुपैयाँ बराबरको २ सय पावर ट्रान्सफर्मर आयात गर्दै आएको छ । वार्षिक १ हजार थान ट्रान्सफर्मर उत्पादन गर्दै आएको कम्पनीले हाल २ हजार थान उत्पादन गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समयमा जलविद्युत आयोजना, टेलिकम, सिमेन्ट, डण्डी उद्योग, हाउजिङ र अष्पतालमा ट्रान्सफर्मरको माग बढेको नेपाल इकराज कम्पनीको प्रबन्ध निर्देशक कुशकुमार जोशीले बताए । विदेशबाट ट्रान्सफर्मर ल्याउँदा लाग्ने समय, डलरको मूल्य लागतको कारण महँगो छ तर एकै पटक अन्तर्राष्ट्रिय टेण्डर गरिने भएका कारण पनि धेरै विदेशीले पाउने गरेको उनले बताए ।

१०८ वर्षमा एघार सय मेगावाट विद्युत उत्पादन


विद्युत उत्पादनको इतिहासदेखि हालसम्म (१०८ वर्ष) नेपालले १ हजार १२४ मेगावाट विद्युत उत्पादन भएको छ । सरकारीस्तरबाट निर्मित ३० वटा आयोजनाहरुबाट ५६३ मेगावाट विद्युत उत्पादन गरेको छ । यता निजी क्षेत्रले पनि ८३ आयोजनाहरुबाट ५६१ मेगावाट विद्युत उत्पादन गरिसकेको छ ।

हालसम्म सरकारीस्तरबाट ९५७ मेगावाटका ९ आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । यस्तै निजी क्षेत्रबाट २ हजार ६१४ मेगावाटका १२० आयोजना, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेर निर्माणनधीनमा जान लागेका २ हजार ८४५ मेगावाटका १२० आयोजना, कनेक्सन सम्झौता सम्पन्न गरेका २ हजार १४१ मेगावाटका ४५ आयोजनाहरु रहेका छन् ।

यस्तै सरकारी क्षेत्रबाट ३ हजार ८०५ मेगावाटका ४९ आयोजना र निजी क्षेत्रबाट ४ हजार ९८८ मेगावाटका २९२ आयोजनाहरु प्रस्तावित रहेका छन् । सुखी नेपाली, समृद्ध नेपाल नारालाई साकार पार्नका लागि जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लथानी आकर्षण गरेर सरकारले १० वर्षमा १५ हजार मेगावाट उत्पादन लक्ष्य लिएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने सक्ने क्षमता भएको बताउँदै त्यसमध्ये ४३ हजार मेगावाट विद्युत निकाल्न सक्ने बताए । उनले जलविद्युत क्षेत्रमा उल्लेख्य सुधार गर्नका लागि निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने बताए ।

देशमा भएका विभिन्न नदीहरुबाट जलविद्युत उत्पादन गर्नका लागि निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरु उत्साहित छन् । तर यसमा उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.