२३ बैंककाे ४१ अर्ब लाभांश घाेषणा : १८ अर्ब पुँजी थपियाे, बाेनस शेयरमा कुन बैंक बढी आक्रामक ?

  २०७६ मंसिर ५ गते १४:१०     विकासन्युज

काठमाडौं । २३ ओटा वाणिज्य बैंकहरुले करिब ४१ अर्ब रुपैंया बराबरका लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट हालसम्म लाभांश घोषणा गरेका ती बैंकहरुले ४० अर्ब ६८ करोड ४० लाख रुपैंया बराबरको नगद तथा शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सेञ्चुरी कमर्शियल बैंकले भने हालसम्म लाभांश घाेषणा गरेका छैनन् ।

कसले कति दिए ?

अहिलेसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुले कुल ४० अर्ब ६८ करोड रुपैंया लाभांश दिने प्रस्ताव गरेका छन् । जसमध्ये १८ अर्ब २८ करोड रुपैंया बराबरकोे बोनस शेयर तथा २२ अर्ब ४१ करोड रुपैंया बराबरको नगद लाभांश दिने भनिएको छ । यो लाभांश औसतमा १८.२८ प्रतिशत हो । यो आधारमा बोनस शेयरकाे हिस्सा ४५ प्रतिशत तथा नगद लाभांश हिस्सा ५५ प्रतिशत छ ।

यो वर्ष सबैभन्दा बढी लाभांश लिने बैंक एनएमबि बनेको छ । याे वर्ष एनएमबिले ३५ प्रतिशत बराबरले हुने ३ अर्ब ३७ करोड रुपैंया लाभांश दिँदैछ । त्यस्तै नबिल बैंकले ३४ प्रतिशतले हुने ३ अर्ब ६ करोड रुपैंया बराबर लाभांश दिँदैछ । त्यस्तै, ग्लोबल आईएमईले २५.५ प्रतिशतले हुने २ अर्ब ६३ करोड, सिद्धार्थले २५.२६ प्रतिशतले हुने २ अर्ब ४७ करोड तथा नेपाल बैंकले २५ प्रतिशत हुनेगरी २ अर्ब ४५ करोड रुपैंया बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले पनि २५ प्रतिशत नै लाभांश घोषणा गरे पनि पुँजी कम भएका कारण उसको लाभांश दायित्व भने २ अर्ब ३ करोड मात्रै छ ।

उता लाभांश घोषणा गरेकोभध्ये सबैभन्दा कम लाभांश भने सिभिल बैंकले दिँदैछ । सो बैंकले ६.५७ प्रतिशतले हुने ५३ करोड रुपैंया बराबरको  लाभांश दिँदैछ । त्यस्तै, कुमारी बैंकले १०.५२ प्रतिशतले हुने १ अर्ब १ करोड, मेगा बैंकले ११.७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैंया, नेपाल बंगलादेश बैंकले ९७ करोड रुपैंया बराबर तथा जनता बैंकको १२ प्रतिशतले हुने ९६ करोड रुपैंया बराबरको लाभांश वितरण हुँदैछ ।

बोनस शेयरमा कुन बैंक बढी एग्रेसिभ ?

यो वर्ष सबैभन्दा बढी लाभांश दिएको एनएमबि बैंक नै सर्वाधिक बोनस घोषणा गर्ने बैंक बनेको छ । सो बैंकले २१ प्रतिशत बोनस दिँदा प्रभु बैंकले १६ प्रतिशत, नेपाल बैंकले १५ प्रतिशत, ग्लोबल आईएमई बैंकले १२.७५ प्रतिशत, नबिल बैंकले १२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १०.५० प्रतिशत बोनश शेयर घोषणा गर्दा सिद्धार्थ, हिमालयन, एनआईशी एशिया, सानिमा, सनराइज, लुम्बिनी र कुमारी बैंकले १० प्रतिशत बोनस दिँदा अरु बैंकहरुले भने १० प्रतिशत भन्दा कममात्रै बोनस शेयय घोषणा गरेका छन् । सिभिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड र मेगा बैंकले भने यो वर्ष बोनस शेयर दिएनन् ।

एनएमबि बैंकले सबैभन्दा बढी बोनश शेयर दिए पनि प्रतिशतका आधारमा भने प्रभु बैंक र कुमारी बैंक बोनस शेयर वितरणमा बढी एग्रेसिभ देखिए । यी दुई बैंकहरुले नगद लाभांशको रुपमा कर प्रयोजनको लागि मात्रै नगद लाभांश दिए । त्यस्तै लक्ष्मी बैंकले कुल लाभांशका २ तिहाई हिस्सा बोनसका लागि छुट्याउँदा नेपाल बैंक र एनएमबी बैंकले ६० प्रतिशत हिस्सा बोनसमा खर्च गरेका छन् ।

हालसम्म बोनस दिएका कम्पनीहरुमध्ये औसत बोनस शेयर भने ८.६७ प्रतिशत मात्रै छ । अहिले नै धेरै पुँजी भएको मेगा बैंक र सिभिल तथा स्ट्यान्डर्ड चार्टर्डले बोनस घोषणा नगरेकोले औसत रकम निकै कम तथा नगल लाभांश भन्दा कम देखिएको हो ।

१८ अर्ब पुँजी थपियो

बोनस शेयरकै वाणिज्य बैंकहरुको १८ अर्ब २८ करोड रुपैंया पुँजी थपिने निश्चित भएको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुको २ खर्ब १० अर्ब ६९ रुपैंया बराबरको पुँजी थियो, यसमा १८.२८ अर्ब रुपैंया थपिँदा २ खर्ब २८ अर्ब ९७ करोड रुपैंया पुग्ने भएको हो । घोषणा नभएका ४ बैंकहरुले लाभांश घोषणा गरे भने यो आकार अझै बढ्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.