केपी ओलीले पुरै पाँच वर्ष सरकार चलाउने, कार्यकारी अध्यक्षमा प्रचण्ड

  २०७६ मंसिर ४ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुरै पाँच वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो ।

“अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएको छ”, पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बैठकले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय गरेको छ ।

बैठकले पार्टी अध्यक्षको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्ने छन् । अध्यक्षबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए ।

यस अगाडि प्रधानमन्त्री ओलीले नै कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.