सेजकाे कार्यकारी निर्देशक नियुक्तिमा झेल, ६ गुणा आवेदन पर्दा पनि पुनः दरखास्त माग

  २०७६ मंसिर ४ गते १५:१९     विकासन्युज

उद्याेग सचिव यमकुमारी खतिवडा

काठमाडाैं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशककाे नियुक्ती प्रकियामा झेल भएकाे छ । १ जना कार्यकारी निर्देशक पदका लागि ६ जनाकाे दरखास्त परे पनि उक्त संख्या कम भएकाे जनाउदै पुनः दरखास्त माग भएकाे छ ।

खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ती गरिने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज ३० सार्वजनिक सूचना निकालेकाे थियाे । त्यसमा  प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्ट, रामदेव यादव, दुई जना पूर्व सह-सचिव सहित ६ जनाले दरखास्त दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको प्रशासन महाशाखाकाका प्रमुख रामचन्द्र ढकालले पहिलो पटक प्रकाशित गरेको सूचना गर्दा ६ जनाले मात्र दरखास्त दिएको जानकारी दिदै अझै बढी नागरिकहरुबाट  आवेदनकाे अपेक्षासहित दाेस्राे पटक दरखास्त आव्हान गरेको जानकारी दिए ।

‘६ जनालाई सर्ट लिस्टकमा राख्ने कार्यविधि छ । त्यसमध्ये तीन जनालाई नेपाल सरकार समक्ष नियुक्तिका लागि सिफारिस गरिनेछ । दरखास्त आएको संख्या अलि कम भएकोले र बढीले जानकारी पाउन् भनेर पुनः सूचना आव्हान गरिएको हो’ उनले भने ।

पहिलो पटकको दरखास्तमार्फत ३० दिनको लागि सूचना निकालिएको थियो । दोस्रो पटकको सूचनामा १५ दिन म्याद ताेकिएकाे छ ।

हालसम्म प्राधिकरणको मासिक तलब ७५ हजार रहेको छ । अब आउने कार्यकारी निर्देशकको तलब क्याबिनेटले तोक्नेछ ।

कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुनमा स्नातकोत्तर हासिल गरी आर्थिक क्षेत्रमा अधिकृत स्तर वा सो भन्दा माथिको पदमा दश वर्षको अनुभव भएको हुनु पर्नेछ । दरखास्तका साथ कुनै पनि राजनैतिक दलको सदस्य नभएको हुनु पर्नेछ ।

पूर्व कार्यकारी निर्देशक चण्डिका भट्टको कार्यवधि असोज ६ गते सकिएको थियो । हाल सहसचिव रामचन्द्र ढकालले  कार्यबाहक कार्यकारी निर्देशकको काम गर्दै आएका छन् । प्राधिकरणकाे अध्यक्षता उद्याेग सचिव यमकुमारी खतिवडाले गर्दै अाएकी छिन् ।

२० वर्षअघि स्थापना भएकाे सेजले अहिलेसम्म प्रभावकारी काम गर्न सकेकाे छैन । सेजकाे काम सरकारले ताेकेकाे ठाउँमा विशेष आर्थिक क्षेत्र बनाउने र सञ्चालन गर्ने हाे । अहिलेसम्म भैरहवा सेजकाे केही काम भएकाे छ भने अन्य क्षेत्रमा उल्लेख्य काम भएकाे छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.