सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई दोहोरो कर नलाग्ने, सस्तो व्याजमा एक करोडसम्म कर्जा

  २०७६ मंसिर ४ गते ११:३१     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आकर्षण बढाउन योगदानकर्ताले पाउने सुविधा वृद्धि गर्न लागिएको छ । योगदानकर्तालाई दोहोरो करबाट मुक्ति दिने, योगदानकर्ताको परिवार सदस्यहरुको पनि स्वास्थ्य बीमा गराउने, पुराना कम्पनीका कर्मचारीले पाउने उपदान वा अन्य सुविधामा कमी हुन नदिने गरी विद्यमान  तयारी भईरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् ।

विकासन्युजकाे यूट्युव च्यानलमा प्रसारित ‘विकास वहस’ वहसमा उनले सुविधा वृद्धिबारे धेरै तयारी जानकारी दिदै बुढेसकालमा अमिलो आँसु पियर बाँच्नु पर्ने अवस्थाको अन्त्य हुने गरी सामाजिक सुरक्षा कोषका याेजनाहरू विकास हुँदै जाने बताएका छन् ।

योगदानकर्तालाई सुविधा बढाउँदै लैजाने उदेश्यका साथ कोषले योगदानकर्तालाई ३ प्रकारको कर्जा दिन थालेको छ । एउटा व्यक्तिलाई बढीमा एक करोड वा १५ महिनाको तलव बराबरकाे रकम कर्जा दिइने उनले जानकारी दिए । यस्तो कर्जा धितो राखेर प्रवाह गरिने र कर्जाको व्याज बैंकले लिने चलनचल्तीको भन्दा केही कम हुने उनले जानकारी दिए ।

कोषले योगदान कर्तालाई घर कर्जा ७५ लाख रुपैयाँ, शैक्षिक कर्जा ३५ लाख रुपैयाँ र सामाजिक सुरक्षा कर्जा ५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको छ । ‘एउटै व्यक्तिले तीनै प्रकारको कर्जा लिन पाउँछन् । तीन प्रकारका कर्जा लिँदा १ करोड भन्दा बढी दिइन्न’–ज्ञवालीले भने-‘शैक्षिक कर्जा याेगदानकर्ताकाे छाेराछाेरी वा श्रीमतीकाे थप शिक्षाकाे लागि पनि लिन सकिन्छ।’

याेगदानकर्ताकाे अायमा दोहोरो कर लाग्ने लगायतका समस्या समाधान गर्ने तयारी भईरहेको र नियमहरुमा आवश्यक संशोधनको लागि फाइल मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । ‘कोषमा जम्मा भएको पैसा ६० वर्ष उमेर पुरा भएपछि मात्र भिक्न पाइने, उच्च आम्दानी भएको व्यक्तिको आयमा पनि कर लाग्ने र सामाजिक सुरक्षा कोषबाट पैसा झिक्दा पनि कर लाग्ने, यसअघि नै उपदानको व्यवस्थासहित सञ्चालनमा रहेका विभिन्न कम्पनीका पुराना कर्मचारीहरुलाई सामाजिक कोषमा आउँदा हुन सक्ने नोक्सानी लगायतका विषयमा असन्तुष्टिकाे आवाज आएका छन् । याेगदानकर्ताकाे तर्फबाट उठेका उचित माग सम्बाेधन हुँदै जानेछन्’ उनले भनेका छन् ।

हाल योगदानकर्ताको मात्र स्वास्थ्य बीमा मात्र हुने गरेकोमा योगदानकर्ताको परिवारका सदस्यहरुको पनि स्वास्थ्य बीमा गर्ने तयारी भएको कार्यकारी निर्देशक ज्ञवालीले बताए । यसको लागि बीमाङ्कीय मूल्याङ्कन गराउने र त्यसको रिपोर्टका आधारमा नयाँ निर्णय लिइने उनले जनकारी दिए ।

ज्ञवालीका अनुसार कोषमा हालसम्म १० हजार भन्दा बढी संस्था र १ लाख ६ हजार भन्दा बढी योगदानकर्ता सूचिकृत भएका छन् । ६७ जिल्लाबाट उद्योग प्रतिस्ष्ठान सूचिकृत भएका छन् । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कम्पनीहरु, उद्योगहरु, स्कूल, कलेज, अस्पताल, सहकारी,आउटसोर्सिङ कम्पनी, गैरसरकारी संस्थाहरु दर्ता भईरहेका छन् ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन स्थायी लेखा नम्बर अनिवार्य चाहिने भएकोले जाइका, डीएफआईडी, यूएसएड प्यान नहुने संस्थालाई पनि सूचिकृत गर्न सक्ने गरि नियमहरु संशोधन गर्न लागिएको उनले बताएका छन् । किराना पसल, पान पसल, तरकारी बिक्रेता लगायत स्वारोजगार व्यवसाय सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रयास दोस्रो चरणमा हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.