भ्याट छल्दै दरबारमार्गको पिज्जा हट, राजश्व भन्छ जानकारी छैन

  २०७६ मंसिर ४ गते १०:०३     विकासन्युज

काठमाडौ । राजधानीको दरबारमार्ग स्थित पिज्जा हट नामक चर्चित मल्टिनेशल होटलले कर छली गरेको भेटिएको छ । होटलले खाजा खाने ग्राहकलाई कागजमा लिखित बिल दिएर कर छली गर्दै आएको प्रमाण फेला परेको हो ।

पिज्जा हटमा खाजा खाँदा मसरुम सुपको २ सय १९ रुपैयाँ, पोटेटो क्रन्चको २ सय ४९ रुपैयाँ तथा भेज स्प्रेन्चीको ६ सय ६९ रुपैयाँ गरी जम्मा ११ सय ३७ रुपैयाँको बिल बन्नु पर्ने थियो । होटलले राज्यलाई तिर्नु पर्ने करलाई वेवास्ता गर्दै सो रकमलाई एउटा कागजमा लेखेर दियो ।

यस्ता प्रकारका होटलहरू बिलविजक जारी गर्ने/ नगर्ने विषयलाई लिएर विकासन्युज यो अनुसन्धान गरेको हो । दरवारमार्गका प्राय यस्ता प्रकृतिका होटलले ग्राहकलाई बिलविजक दिएपनि पिज्जा हटले भने यसरी नै कागजको टुक्रामा लेखेर बिल दिने गरेको छ ।

दरवारमार्गको मात्र होइन ठमेलस्थित पिज्जा हटमा पनि ग्राहकलाई यस्तै व्यवहार गरिन्छ । उसले पनि यसरी नै कागजको टुक्रालाई बिल बनाउने गरेको छ । यसरी हातले कागजको टुक्रामा लेखेर दिएको बिल जारी गरेको प्रमाण कहि कतै हुँदैन ।

बिल नलिदा आफू मूल्य अभिवृद्धि कर र सेवा शुल्कबाट बचेको ग्राहकले महशुस गरेपनि होटलले भने आफूले लिनुपर्ने सेवा शुल्क र कर लिइसकेको हुन्छ । यसरी ग्राहकलाई बिल नदिँदा ग्राहकले तिरेको कर होटलको हुन्छ । सरकारी ढुकुटीमा जाँदैन । पिज्जा हटले बिल नदिएर राज्य र ग्राहक दुबैलाई ठगिरहेको छ ।

भ्याट बिल मागे दिने नत्र नदिने 

ग्राहकहरूले मागेको खण्डमा होटलले मूल्य अभिवृद्धि कर (भ्याट) बिल सजिलै दिने गरेपनि नमागेको अवस्थामा ग्राहकहरूले बिल पाउँदैनन् ।

नियमित रुपमा पिज्जा हट होटलमा खाजा खान जाने ग्राहकले दिएको जानकारी अनुसार–‘सो होटलले बिल नै नदिने त होइन, तर नमागेको खण्डमा भने ग्राहकहरूलाई बिल दिँदैन ।

हामी कहिले माग्छौं, कहिले त्यतिकै छाडिदिन्छौं, पिज्जा हटमा भेटिएका ती ग्राहकले भने ‘खाजा खाएको रकम भुक्तान गरेपछि बिल दिनु उनीहरूको धर्म र कतव्र्य हो भने बिल माग्नु हाम्रो अधिकार हो ।’

यस्तो छ सरकारको प्रतिक्रिया

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार–‘हालसम्म हामीले जटिल किसिमका मुद्दाहरूका लागि हामीले कदम चाल्दै आएका छौं । तर, यस्ता घटना पूर्ण रुपमा रोकिएका छैनन् ।’ उनले कर छली रोक्न अन्य विभागहरूले समेत काम गर्दै आएको बताए । साथै, गम्भिर ढङ्गका समस्याहरूमा आफ्नो तर्फबाट काम गर्दै आएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

पाँचतारे होटल अन्नपूर्णसँगै जोडिएको होटल हो पिज्जा हट । राजधानीका मात्र नभइ स्वदेश तथा विदेशका नागरिकले पिज्जाको स्वाद लिनका लागि उक्त होटलमा पुग्छन् । होटलबाट निस्कने क्रममा खाजा खाने ग्राहकहरूले होटलको काउण्टर भेट्न सक्छन् । सो काउण्टरमा ग्राहकहरूले आफूले खाएको खाजाको रकम भुक्तान गर्दछन् अनि बिल पनि लिन्छन् ।

खाजा खाने शिलसिलामा विकाशन्युज प्रतिनिधि राजधानीको दरबारमार्ग स्थित पिज्जा हट होटलमा पुग्दा होटलले मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रदान गरेन । होटलसँग विकाशन्युज प्रतिनिधिले बिल मागे । भ्याट बिल आएन । होटलले बिल त सोध्ने बित्तिकै ल्याइदियो । तर, सो बिल इलेक्ट्रोनिक वा भ्याट बिल थिएन । बिल झट्ट हेर्दा चिट जस्तो प्रकृतिको देखियो ।

दरवारमार्गका होटलहरूमा विशेषत विदेशी पर्यटकहरूको चाप बढी रह्न्छ । यस्तो ठाउँमा कर छली गर्दा त्यसको नकारात्मक हल्ला विदेशमा समेत पुग्ने छ भने राज्यले ठूलोमात्र राजस्व गुमाइरहेको हुन्छ । पिज्जा हटले राजधानीमा बसेर बदमासी गरिरहेको छ ।

राजश्व चुहावटमा यस्तै छिद्रहरू रहेकाले यसको नतिजा सधै नकारात्मक नै रहने राजस्वका अधिकारीहरूको भनाइ छ ।
कर छल्न कसैलाई छुट छैन, त्यसमाथि राजधानीको मुटुमा बसेर कर छली गर्दा कर प्रशासनलाई चुनौती दिएको राजस्व अनुसन्धान विभागले बताएको छ ।

साथै, राजश्वको क्षेत्रमा लामो समयसम्मको अनुभव हासिल गरेका अधिकारीहरुले भने आगामी दिनमा कर छली रोक्न सबैतिरबाट प्रयास हुन जरुरी रहेको तर्क गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.