लामो समयदेखि रोकिएका पुराना उद्योगलाई फेरि नवीकरण गरिँदै

  २०७६ मंसिर ३ गते १२:४१     विकासन्युज

घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु उद्योग वाणिज्य सङ्घको लामो प्रयासपछि नवीकरण शुरु गरिएको हो ।

विभिन्न कारणले समयमा नवीकरण नभएका उद्योगको जरीवाना तिर्दा समेत घरेलु कार्यालयले नवीकरण गरेको थिएन । सङ्घले यसका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पटक–पटक छलफल गर्दै आएको थियो । त्यसपछि प्रदेश सरकारले केही दिनअघि नवीकरण रोकिएका उद्योगको पुनः नवीकरण गर्न अख्तियारी दिएको थियो । प्रदेश सरकारले गरेको यस प्रकारको निर्णयले उद्योगीलाई सहजता भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिएका छन् ।

नवीकरणका लागि उद्योगी घरेलु कार्यालयसम्म पुगे पनि काम नभएपछि त्यसै फर्किने गरेका थिए । “हामीले पटक–पटक नवीकरण गर्नका लागि अनुरोध गर्दै आएका थियौँ, अहिले त्यो पूरा भएको छ”, अध्यक्ष भुसालले भने । यस विषयमा केही दिनअघि दाङ, प्युठान, रुपन्देही, भैरहवा, नेपालगञ्जलगायतका उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय पदाधिकारी तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरीबीच छलफलसमेत गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय दाङले पनि मिति सकिएका उद्योगको नवीकरण शुरु भएको जनाएको छ ।

कार्यालयका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले मिति सकिएका उद्योगको नवीकरण शुरु भएको जानकारी दिएका छन् । “निमावली निर्माण भएर आएपछि नवीकरण शुरु गरेका छौँ”, रिजालले भने, “तोकिएको जरिवाना तिरेर आगामी २०७७ भदौ ३ गतेसम्म नवीकरण गरिसक्नुपर्ने निर्देशन आएको छ ।” आइतबारबाट शुरु भएको नवीकरणका लागि दैनिक आधा दर्जन उद्योगी नवीकरणका लागि आउने गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.