विमानस्थलमा सर्वसाधारणको पहुँच बाहिर टिकट वितरण, महासङ्घद्वारा आन्दोलनको चेतावनी

  २०७६ मंसिर ३ गते १२:२७     विकासन्युज

सिञ्जा । जुम्ला विमानस्थलमा टिकट वितरणमा सर्वसाधारणलाई सास्ती भएको विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण गराएको छ । महासङ्घले लिखितपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।

महासङ्घका अध्यक्ष बरमबहादुर महत, उपाध्यक्ष नेत्र शाही, केन्द्रीय सदस्य पूर्ण चौलागाईं, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत र जुम्लास्थित पत्रकारसहितको टोलीले विमानस्थलमा गई नागरिक उड्डयन प्राधिकरण, विभिन्न एयरलाइन्स, जिल्ला प्रशासन कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई टिकट वितरणमा पारदर्शिता हुनुपर्ने, नेपाल एयरलाइन्सको जहाजको उडान थप्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विमानस्थलमा लामो समयदेखि टिकट वितरण प्रणालीमा सर्वसाधारणको पहुँच नरहेको र बिक्रीकक्षबाट टिकट वितरण नभएको प्रति महासङ्घ शाखा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सर्वसाधारणले टिकट नपाउने र पहुँचवालाकै हालीमुहाली भएको भन्ने जनताको गुनासोका आधारमा महासङ्घले गत कात्तिक ३०, यही मङ्सिर १ र २ गते स्थलगत अनुगमनसहित सूचना लिँदा सर्वसाधारणको पहुँच बाहिर बिक्री कार्यालय नै नखोली टिकट वितरण गरिएको पाइएको जनाइएको छ ।

फिर्ता टिकटका नाममा बिरामीलाई समेत प्रभावित भई ढिलाइ हुने समस्या जस्ताको तस्तै भएको ज्ञापनपत्रमा उल्लेख छ । यसैगरी गत कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको उपस्थितिमा समेत गरिएको बिक्री कार्यालयबाट टिकट वितरण गर्ने भन्ने निर्णय कार्यान्वयन नभएको, टिकट सम्पर्क कार्यालयमा नभई व्यक्तिको पछाडि लाग्नुपर्ने अवस्थाले पर्यटकलाई समेत हैरान बनाएको तथा फिर्ता टिकटको नाममा सास्ती भएको छ । महासङ्घले नसच्चिए जनताको अधिकार प्राप्तिका लागि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.