अर्थमन्त्रीले साह्रै मन पर्यो भनेको यो लेख : मान्छेले आफ्नाे रिसलाई कसरी नियन्त्रण गर्ने ?

  २०७६ मंसिर ३ गते ९:२७     मित्रलाल पंज्ञानी

काठमाडाैं । मान्छेका मनमा विभिन्न किसिमका आवेग र संवेगहरू आइरहन्छन् । ती आवेग र संवेगहरूलाई सचेततापूर्वक कज्याउन सकियो भने तिनले अपेक्षित फल दिन्छन् । अन्यथा ठिक विपरित नतिजा निस्कन्छ ।

मानवजगत भनेको मनोजगत पनि हो। यो निकै जटिल पनि छ । मनोजगतकाे निर्माणाधार बस्तु जगत नै हो, तापनि यो जगत केवल आंकडाका भरमा चल्दैन । जीवनमा आफ्ना उद्देश्य हासिल गर्नका लागि मानिसहरूका भावना बुझ्न र सोही बमोजिमको व्यवहार गर्नु आवश्यक छ ।

मान्छे जतिसुकै विद्वान भए पनि र जतिसुकै सकारात्मक सोच राख्ने खालको भए पनि आवेग संवेगलाई व्यवस्थित गर्न सकेन भने त्यसले कुनै पनि सङ्गठनलाई नेतृत्व दिन सक्दैन । सामान्य व्यवस्थापकीय कार्य पनि कुशलतापूर्वक सम्पन्न गर्न सक्तैन । सानो कुराले खिन्न भइहाल्ने र सानो कुराले एकदम उत्साहित हुने मान्छेले अनेक जटिलताले जेलिएको मानवीय सङ्गठनलाई बुझ्नै सक्दैन । हाँस्न सक्ने त झन् कुरै भएन । त्यसैकारणले पछिल्ला दिनहरूमा विकसित मुलुकमा व्यवस्थापनको कुनै पनि तहमा भर्ना हुन चाहनेले बुद्धि परीक्षण (आइक्यू) मात्र होइन, संवेग परीक्षण (ईक्यू) मा पनि उत्तीर्ण हुनु पर्ने व्यवस्था मिलाइएको पाइन्छ । आवेगात्मक सन्तुलनले युक्त जनशक्ति उत्पादन गर्ने ध्ययेले विद्यालय तहबाटै संवेगात्मक बुद्धि (Emotional Intelligence) पढाउन थालेको पाइन्छ।

व्यवस्थापनको प्रारम्भिक तहमा प्रविष्टिका लागि आइक्यू नै महत्वपूर्ण हुन सक्ला तर सफलताको सिँढी चढेर शिखरमा पुग्न इक्यू अनिवार्य र निर्विवाद छ ।

आवेगात्मक बुद्धि आफ्नो र अरूको उत्तेजनालाई बुझ्ने, व्यक्त गर्ने र नियन्त्रण गर्ने क्षमता हो। यति मात्रै पनि होइन । सचेतनापूर्वक आफ्नो व्यवहार र सम्बन्धहरूलाई व्यवस्थित गर्ने दक्षता पनि हो। आवेगात्मक बुद्धिले व्यक्तिको आत्मसंयम, सामाजिक जटिलताहरूका बीचमा बाटो पहिल्याउने विवेक र वैयक्तिक निर्णयहरू गर्ने क्षमताद्वारा सकारात्मक नतिजा प्राप्त गर्ने सामर्थ्यलाई निर्धारित गर्दछ। आवेगात्मक सन्तुलन भएको व्यक्ति आफ्नो भावनात्मक समझको उपयोग गरेर सम्मुखको व्यक्तिसित राम्रो ढङ्गले संवाद गरी निकै राम्रो परिणाम निकाल्न सक्दछ ।

आवेगात्मक बुद्धि मनोविज्ञानको विषय हो। यो नितान्त मनसित सम्बन्धित छ। मनमा कति बेला के कारणले कस्तो आवेग उत्पन्न हुन्छ र त्यसले तनलाई तत्काल कस्तो प्रतिक्रिया दिन उत्प्रेरित गर्छ भन्ने नै आवेगात्मक बुद्धिको अध्ययन तथा व्यवस्थापनको विषय हो ।

‘उत्तेजनाको पारो घरि ह्वात्तै माथि जानु र घरि एकदम तल झन् आवेगात्मक असन्तुलन हो। आवेग यसरी असन्तुलित बन्न पुगेपछि मान्छेले उही चिजलाई पनि भिन्नाभिन्नै रूपमा देख्छ । यो असन्तुलनले वस्तु जस्तो छ त्योभन्दा भिन्न देखाउँछ र मान्छेले धोका खान्छ । यस्ता मान्छेलाई अरूले त्यति पत्याउँदैनन् पनि ।’ यसो नहोस् भन्नकै लागि ‘ठोस स्थितिको ठोस विश्लेषण’ भन्ने गरिन्छ । तर जसले यसो भन्छन् तिनैले ठोस स्थितिको तरल विश्लेषण र तरल स्थितिको ठोस विश्लेषण गरेको पनि देखिन्छ । साँच्चै ठोस स्थितिको ठोस विश्लेषण गरेका हुन्थे भने तिनले बोलेका कुरा फरकै पर्ने थिएनन् । विपरीत नतिजा आउने थिएन ।

कसैले आफूभित्र उठेर आउँदै गरेको आवेगलाई परैबाट छ्याङ्ग देख्छन् । कसैले थाहै पाउँदैनन् । उत्तेजना शक्तिशाली भूकम्प आएझै गरी आउँछ र तहसनहस हुनेगरी हल्लाएर जान्छ । मन बेहोसीमै कहाँ कहाँ पुगेर के के गरिसक्छ । होसै हुँदैन । पछि उसले पछाडि फर्केर हेर्छ अनि बल्ल थाहा पाउँछ– ‘त्यो भीषण आँधी आएर गएछ ।’ देख्छ- ‘कहाँ कहाँ ढलेछन् सद्भावका वृक्षहरू र उडेछन् प्रेमका छानाहरू। कहाँ थप्रिएछन् धुलो र पातपतिङ्गर । कहाँ लागेछ चोट र बसेछ खोट ।’ मनभित्र आउँदा आउँदैको आँधीलाई उसले आँधी हो भनेर किन चिन्न सकेन ? यस्तो रहेछ यसो हुनुको रहस्य- ज्ञानेन्द्रीयबाट प्राप्त सूचनाहरू विद्युतीय सङ्केतमा रूपान्तरित भई कोषपछि कोष हँदै मेरुदण्डको भित्र रहेको स्पाइनलकर्डमार्फत मस्तिष्कमा प्रवेश गर्दा रहेछन् र सोझै गएर मस्तिष्कको संवेदना केन्द्रमा ठोकिँदा रहेछन् । त्यसपछि बल्ल मस्तिष्कमा रहेको विवेककेन्द्रतिर जाँदा रहेछन् । त्यसकारण रिसाइसकेपछि होस आउँदो रहेछ। विवेक राम्ररी जागेका मान्छेहरूले भने संवेदना केन्द्रमा जाग्न लागेको उत्तेजनालाई पहिल्यै देखेर समेलिँदा रहेछन् । उत्तेजना केन्द्र र विवेक केन्द्रका बीचमा सम्बन्ध स्थापित गर्न सक्ने मान्छेहरूको आवेगमा उतारचढाव नआउँदो रहेछ । यिनै दुई केन्द्रबीच सम्बन्ध स्थापना गर्ने सामर्थ्य नै इमोसनल इन्टेलिजेन्स रहेछ ।

ट्राभिस ब्याडबरी र जीन ग्रिसले ‘इमोसनल इन्टेलिजेन्स २.०’ नामक पुस्तकमा ज्ञानेन्द्रीयबाट प्राप्त सूचना दिमागमा प्रवेश गर्ने र उत्तेजना केन्द्र हुँदै विवेक केन्द्रसम्म पुग्ने मार्गचित्र यसरी प्रस्तुत गरेका छन् ।

Limbic system – आधारभूत संवेगहरू (भोक, प्यास, रिस, कामवासना आदि) लाई नियन्त्रण गर्ने मस्तिष्कको
जटिल स्नायु प्रणाली।

Spinal Cord – मेरुदण्डको भित्रपट्टि रहने मेरुरज्जु सुषुम्ना । आवेग नियन्त्रण सामर्थ्य आनुवंशिक हो कि आर्जित हो। भन्ने विषयमा मनोवैज्ञानिकहरूका बीचमा बहस जारी नै छ । अधिकांश मनोवैज्ञानिकहरूले उचित शिक्षा दिएर अभ्यास गराउँदै जाने हो भने आवेगात्मक सन्तुलन आर्जन गर्न सम्भव भएको निष्कर्ष निकालेका छन् ।

आवेगात्मक बुद्धि चारवटा दक्षता (Skills) को योगबाट  निर्माण भएको हुन्छ । १.स्व-सचेतता, २. स्व-व्यवस्थापन ३. सामाजिक सचेतता र ४. सम्बन्ध व्यवस्थापन । स्वसचेतता र स्वव्यवस्थापन वैयक्तिक दक्षतामा पर्दछन् भने सामाजिक सचेतता र सम्बन्ध व्यवस्थापन सामाजिक दक्षतामा पर्दछन्।

स्व-सचेतताः विभिन्न परिस्थितिहरूमा विभिन्न क्षणमा आफुमा उत्पन्न हुने आवेगहरूलाई ठिक ढङ्गले चिन्ने तथा भने सामर्थ्य स्व-सचेतता हो । खास घटना, चुनौती तथा व्यक्तिरूका बारेमा आफूभित्र उत्पन्न हुने प्रतिक्रियाको ज्ञान हो। स्व-सचेतना भएको व्यक्तिले आफ्ना आवेग तथा संवेगहरूको मूल प्रवृत्ति ठम्याएको हुन्छ। यस्ता व्यक्तिहरूले आफूभित्र उठ्न लागेको रिसलाई पहिल्यै देख्दछन्।

स्व-व्यवस्थापनः आफ्ना उत्तेजनाप्रति सचेत रहन र लचकदार ढङ्गले आफ्ना व्यवहारलाई सकारात्मकतातिर मोड्नु नै स्व-व्यवस्थापन हो । यसले अन्य व्यक्तिहरू र परिस्थितिका प्रतिको आफ्नो प्रतिक्रियालाई व्यवस्थित
गर्दछ । कुनै म्यानेजरलाई कुनै कर्मचारीको काम गराइ पटक्कै मन परेन भनेर ठाडै निर्मम ढङ्गले आक्रोश पोख्नु
स्व-व्यवस्थापनको अभाव हो। त्यसलाई संबाेधन गर्ने उपयुक्त अर्कै विधि हुन्छ।

सामाजिक सचेतताः अरूका मनका आवेग संवेगहरू बुझ्ने सामर्थ्य सामाजिक सचेतता हो । यो सामाजिक दक्षताको सर्वाधिक महत्वपूर्ण पाटो हो । आफूले अन्य व्यक्तिहरूसित अन्तरसंवाद तथा अन्तरक्रिया गरिरहेका समयमा तिनको अनुभूति थाहा पाउन्ले सही ढङ्गले परिस्थितिलाई बोध गर्न सघाउँछ । यसले आधारभूत सम्बन्धहरूमा प्रभाव पार्दछ।
सामाजिक सचेतताको सीप निर्माण गर्नका निमित्त हरेक परिस्थितिमा होसमा रही मान्छेहरूको गहिरो अवलोकन गरिएको हुनुपर्छ।

सम्बन्ध व्यवस्थापनः आफ्नो र अरूको आवेग संवेगलाइ अधिकतम उपयोग गरी अन्तरसंवादलाई व्यवस्थित गर्ने दक्षता नै सम्बन्ध व्यवस्थापन हो। सम्बन्ध व्यवस्थापनले आपसमा सुस्पष्ट सञ्चारको माग गर्दछ र द्वन्द्वलाई प्रभावकारी ढङ्गले परिचालन गर्दछ । आफ्ना सञ्जालभित्रका आवश्यक सामाजिक सम्बन्धहरूलाई निरन्तर जीवन्त राख्न सकिएन भने त्यसले मौकामा काम दिदैन। ह्वात्तै सम्बन्ध राख्ने र च्वाटै बिर्सने परिपाटी सम्बन्ध व्यवस्थापनको अकुशलता हो । जीवन्त सम्बन्धमा रहेर काम गर्नका लागि निरन्तर समय, प्रयत्न र ज्ञानको खाँचो पर्दछ। यहाँ ज्ञान भनेको त्यो संवेगात्मक बुद्धि हो, जसबाट आफू र ऊ दुवै तर्फका आवश्यकता तृप्त हुन्छन्।

आवेगात्मक बुद्धिलाई संवेगात्मक बुद्धि या संवेगात्मक चातुर्य पनि भन्न सकिन्छ । यस्तो चातुर्य भएको मान्छेमा प्रत्युत्पन्न मति प्रबल हुन्छ। यस्तो मति भएको व्यक्ति ‘फलानाले यसो भनेको बेलामा यस्तो जवाफ दिन पर्दो रहेछ’ भनेर घर पुगेपछि पछुताउनुको साटो तत्कालै सही जवाफ दिएर सन्तुष्ट भई घर फर्किएको हुन्छ । जुन जवाफले आफूलाई र सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँछ।

आवेगहरूलाई चिन्नु, त्यसको स्रोत थाहा पाउनु र सही ढङ्गले निकास दिनु आवेगात्मक सन्तुलन हो। यस्तो सन्तुलन निरन्तर अध्ययन, अवलोकन र मननको त्रिवेणीमा अवतरित हुन्छ। नाम नसम्झेको कुनै लेखकको एक वाक्यबाट यो लेख टुङ्ग्याउँछु-

“Do not lose your temper. If you do so, the
situation can go out of your control.”

(पंज्ञानी राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी हुन्, यो आलेख नेपाल बैंक लिमिटेडको वार्षिक विशेषांकबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.