कर लगाउँदा त्यति मात्र लिनु जति माहुरीले फूलबाट रस लिन्छ- राजेशकाजी श्रेष्ठ

  २०७६ मंसिर २ गते १९:५५     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले ‘कर लगाउँदा त्यति मात्र लिनु जति माहुरीले फूलबाट रस लिन्छ’ भनेका छन् । उनले उक्त टुक्कालाई थप व्याख्या गर्दै जसबाट फूलको महक पनि कम नहुने र मह पनि बन्ने जस्तो अवधारणाबाट अभिप्रेरित हुनुपर्ने भन्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवनमा गरेको अन्तक्र्रियामा अत्यावश्यक मेगा प्रोजेक्ट र ठूला विकासका कार्य छ भने मात्र अधिक कर लिनुपर्ने व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुँदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने बताए । कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एंव करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताए ।

उनले उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेका पाइएमा उनीहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने धारणा राख्दै कर अधिकृतको स्वविवेकीय अधिकारलाई वस्तुपरक र निश्चित मापदण्डभित्र ल्याउनु पर्ने बताए । उनले सर्वसाधारणलाई अतिरिक्त व्ययभार नपर्ने गरी एकपटकको लागि विभिन्न करदाताले आफ्नो सम्पत्तिको स्वघोषणा गर्ने अवसर उपलब्ध गराइनुका साथै प्राप्त सूचनाको आधारमा सरकारले पर्पर्टी इन्डेक्स पनि तयार गर्नु पर्ने दावी गरेका छन् ।

त्यस्तै, कार्यक्रममा  आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताउँदै उनले प्रविधीमैत्री कर प्रशासनमा जोड दिनुपर्ने जनाएका छन् ।

महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिँदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यालय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एंव करदाताको साथ अनिवार्य रहेको धारणा राखे ।

कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आ.व. २०७५/७६ मा राजश्व परिचालन ८६५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा सरकारको कूल राजश्व ७२६ खर्ब ७२ करोड रुपैयाँ रहेको थियो । यस आव वर्ष २०७६/७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड रहेको र सो अघिल्लो वर्षको सोही अवधिमा ११९ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

२०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आ.व.२०७६/७७ को दुई महिनामा सो वृद्धि करिब १५.७ प्रतिशतले वृद्धि भएबाट राजश्वको उठती वृद्धि भैरहेको छ । सोही अवधिमा खर्च भने ५३ प्रतिशतले घटेको कटु यथार्थ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.