वासुदेव अधिकारीले देखेको नेपाल बैंकका ३ संकट, दोस्रो विश्व युद्धदेखि २१ औं शताब्दीसम्मै संघर्ष

  २०७६ मंसिर २ गते १९:२५     विकासन्युज

काठमाडौं । नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले २०५८ सालको संकटपछिको हालसम्मको सुधारलाई तेस्रो फड्कोको रुपमा व्याख्या गरेका छन् । नेपाल बैंकले आफ्नो ८३ वर्षीय इतिहासमा त्यस अघिपनि दुई वटा संकटको सामना गर्नु परेको र त्यसले बैंकलाई खारेजीको अवस्थासम्म पुर्याएको भन्दै अब भने बैंक नयाँ युगको प्रतिस्पर्धात्मक बैंक बन्नेतर्फ अघि बढेको बताए ।

अधिकारीको नजरमा नेपाल बैंकले पहिलो पटक स्थापना कालको दोस्रो वर्षदेखि नै पहिलो संकटको सामना गर्नु परेको थियो । त्यति बेला तत्कालिन इण्ट इन्डिया सरकारले सञ्चालनमा ल्याएको कम्पनी रुपैयाँको भाउ निरन्तर घट्दै जाँदा नेपाल बैंकले विनिमय गर्नै नसक्ने अवस्था सिर्जना भएको थियो । जवकी त्यो बेला नेपाल बैंकको मुख्य व्यवसाय नै विनिमय थियो ।

अधिकारीले नेपाल बैकले भोगेको दोस्रो संकट भने प्रजातन्त्र स्थापनापछिको समयलाई मानेका छन् । राणा शासनको अन्त्यपछि सरकारमा राणाहरूको पहुँच गुमेसँगै अधिकांश शेयर हिस्सा राणा परिवारको भएको बैंकमा बैंक एकातिर लगानीकर्ता अर्कोतिर भएको इतिहास आफूले पढेको उनले बताए । त्यो तत्कालिन नेपाल सरकारले ४० प्रतिशत रहेको आफ्नो शेयर हिस्सालाई बढाएर शेयर बेच्न चाहने शेयर खरिद गरेर दोस्रो संकट टारेको थियो ।

तेस्रो संकट भने २०५८ सालको संकट हो । जतिबेला नेपाल बैंकको खराब कर्जा ६० प्रतिशत पुग्दा बैंक लिक्विडेसनको अवस्थामा पुगिसकेको थियो । पछि नेपाल सरकारले दोस्रो चरणको वित्तीय सुधारको कार्यक्रम अन्तर्गत बैंकमा लगानी थप गरेर बैंकलाई लिक्विडेसनमा जानबाट बचाएको अधिकारीले स्मरण गरे । उनले त्यो संकटको घण्डीमा सहयोग गर्ने नेपाल सरकार र राष्ट्र बैंकको समेत स्मरण गरे ।

नेपाल बैंक अब शेयर धनीलाई लाभांश बाड्न सक्ने बैंक बनिसकेको, प्रविधिमैत्री, सुशासित र प्रतिस्पर्धात्मक बैंक बन्ने चरणमा अघि बढिसकेको भन्दै उनले यो अवस्थासम्म बैंकको स्थापना र विकासमा योगदान दिने निर सुब्बा गुञ्जमान सिंह, तात्कालिन राणा प्रधानमन्त्री जुद्धसम्शेर, केशरसम्शेर र बहादुरसम्शेर जबरा, भीमबहादुर पाण्डे, ठाकुरसिंह कठैत, अनन्तभक्त राजभण्डारी र साहित्यकार बालकृष्ण समको योगदानको स्मरण गरे ।

निर सुब्बा गुञ्जमान सिंहले बेलायतबाट फर्केपछि नेपालमा बैंक खोलौं भन्ने भावना अनुसार नेपाल बैंक खोल्ने प्रस्ताव गरेका थिए । अध्यक्ष अधिकारीले सिंहकै भावनाको प्रतिफल  नेपाल बैंक स्थापना भएको भन्दै त्यो भावनालाई शासक भएर पनि तात्कालिन राणा प्रधानमन्त्री जुद्धसम्शेर स्वीकार गरेको उनको भनाई थियो ।

त्यस्तै, बैंक स्थापनापछि नेपाल बैंकको पहिलो ९ बैठक सम्म अध्यक्षता ग्रहण गरेर कर्मलिगमा अघि बढाउने व्यक्तिको रुपमा केशरसम्शेर जबरालाई, पहिलो अध्यक्षको रुपमा बहादुरसम्शेर जबरालाई स्मरण गरेका हुन् ।

त्यस्तै, तत्कालिन अध्यक्ष अध्यक्ष विजयसम्शेर राणाले संकटको घडीमा अहिलेको केन्द्रीय कार्यालयको जग्गा सरकारबाट सित्तैमा स्थानान्तरण गरेर ल्याउने काम गरेका थिए भने प्रजातन्त्रपछिको संकटलाई सन्तुलित तबरले व्यवस्थापन गर्ने काम भीमबहादुर पाण्डेले गरेका थिए ।

देहेरादुनको बैंकमा काम गरेका ठाकुरसिंह कठैतले भने बैंक स्थापना हुँदा सबै प्रबन्धहरु मिलाउने वाणिज्य क्षेत्रका शब्दावलीहरु रचना गर्ने काम गरेको बताए । पूर्व महाप्रबन्धक अनन्तभक्त राजभण्डारीकोे योगदान पनि नेपाल बैंकको लागि शीर्ष रहेको उनको भनाइ थियो ।

नेपाल बैंकको लोगो भने नेपाली साहित्यका त्रिमुर्ति तथा साहित्यकार तथा नाटककार बालकृष्ण समले गरेका थिए । यसले नेपल बैंकको गर्विलो इतिहासलाई प्रस्तुत गर्ने उनको भनाई थियो ।१९८७ मा एशियाका ठूला २०० बैंकमध्ये नेपाल बैंकको रोल नं १९३ औं रहेको भन्दै उनले यस्तै राम्रा र गर्विला इतिहासलाई कायम राख्ने र नराम्रा इतिहासबाट पाठ सिक्दै अघि बढ्नुपर्ने उनको भनाई थियो ।

नेपाल बैंकले साेमबार मात्रै शेयरधनीलाई १५ प्रतिशत बोनससहित २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.