खुला दिशामुक्त अभियान तीव्र, चुनौतीपूर्ण बन्दै मलमूत्र व्यवस्थापन

  २०७६ मंसिर २ गते ११:५६     विकासन्युज

काठमाडौं । हरेक व्यक्तिले गासका लागि दैनिक घण्टौ काम गर्दछ तर खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनका लागि भने धेरै ध्यान दिएको पाइदैन । हरेक व्यक्तिले कम ध्यान दिएको मानवीय मलमूल व्यवस्थापन अहिले विश्वमा स्वास्थ्य र सरसफाईको क्षेत्रमा ठूलो चुनौतिको रुपमा आएको छ ।

विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालेको हो ।

शौचालयबारे निर्धक्क कुरा, स्वास्थ्य र सफाईका लक्ष्य हुन्छन् पूरा भनेझैं
आजसम्म पनि ओझेलमा परेको मानव मलमूत्रको व्यवस्थापनका बारेमा खुलेर कुरा गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत ईन्जिनियरहरु मुखर भएर आएका छन्, चर्पीको कुरा लिएर । खानेपानी,स्वास्थ्य र सफाईको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था स्मार्ट वासको आयोजनामा आइतबार राजधानीमा विश्व चर्पी दिवस २०१९ का अवसरमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

शौचालय हरेक व्यक्तिको आधारभूत आवश्यकता हो र यसको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यका साथै व्यक्तिको इज्जत र प्रतिष्ठासंग जोडिएको छ । तपाई सबैले देख्ने गरी खान सक्नुहुन्छ तर दिसा र पिशाब गर्न सक्नुहुन्न । सञ्चारकर्मीहरुले पनि आफ्नो दृष्टिकोण व्यापक बनाउन जरुरी भएको पूर्व सचिव सुमन शर्माले बताएका छन् ।

कार्यक्रममा पूर्व मन्त्री गणेश साहले नेपाल करिब एक दशकको अथक प्रयासपछि गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र भएकोमा गर्व गर्र्दै भने अहिले घरघरमा शौचालय बनेको छ तर पूर्र्ण सरसफाईको स्तरमा पुग्न बाँकी छ । अझैपनि सार्वजनिक शौचालयहरु अपर्याप्त छन्, गुणस्तर राम्रो छैन, दिगो व्यवस्थापनका समस्या छन् ।

सबैभन्दा ठूलो कुरा त शौचालयमा जम्मा भएका मानव मलमूत्रको प्रशोधन र दिगो व्यवस्थापन समस्याको रुपमा रहेको छ । प्रचलित प्रविधि छ तर महंगो छ । त्यसलाई हाम्रो देशको भौगोलिक आर्थिक हिसाबले उपयुक्त प्रविधि विकास गरी दिगो व्यवस्थापन गर्नुपर्ने खाँचो छ ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले चर्पीको कुरा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित भएकोले नेपालमा खुला दिशामुक्त अभियान तीव्र गतिमा चलाईएको बताएका छन् ।

उनले घरघरमा चर्पी बनाउने अभियान पुरा भएको बताउदै अब सार्वजनिक क्षेत्रमा शौचालय निर्माणमा संघीय र प्रादेशिक तथा स्थानीय सरकारको पनि ध्यान केन्द्रीत भएको र चर्पीको सरसफाई,गुणस्तर,चर्पीमा जम्मा भएको मलमूत्रको व्यवस्थापन चुनौतिको रुपमा आएको बताएका छन् ।

महानिर्देशक दासले सरकारले पूर्ण सरसफाईको लागि निर्देशिका र सूचकहरु तयार पारेकोले त्यसको परिपालना गर्नुपर्ने आवश्यकता औल्याए । शहरी ढलको दिगो व्यवस्थापनको लागि झापाको चारआली र काँकडभित्तामा विलगेट्स फाउण्डेशनको सहयोगमा प्रशोधन केन्द्र बनेको बताउदै देशमा रहेका नगरपालिका र गाँउपालिकाहरुमा यस्ता प्रशोधन केन्द्र बनाउने र दिगो रुपमा सञ्चालन गर्ने कार्य चुनौतिको रुपमा आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.