ससुराले ज्वाइलाई दिएकाे कराेडाैं कर्जा दक्षिणामा परिणत हुँदै, यसरी भयाे शक्ति दुरुपयोग

  २०७६ मंसिर १ गते २०:२३     विकासन्युज


काठमाडौं । ससुरा बैंकको कार्यकारी अध्यक्ष । ज्वाई गार्मेन्ट कम्पनीको मालिक । ससुराले ज्वाईलाई व्यवसाय गर्न करोडौं रुपैयाँ कर्जा दिन्छन् । ज्वाईले बैंकबाट लिएको कर्जालाई ससुराले टिका लगाएर दिएको दक्षिणा झै प्रयोग गर्छन् । अर्थात बैंकबाट लिएको कर्जाको सावा व्याज केही पनि भुक्तानी गर्दैनन् ।

सुन्दा कथा जस्तो लाग्छ तर यो वास्तविक घट्ना हो । त्यो पनि पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक भित्रको घट्ना हो । जहाँ एउटै कर्जाको फाइलमा ३ अर्ब ८५ करोड मिनाहा गरिदैछ ।

बहुदल आएपछि नेपाली काँग्रेसको बहुमतको सरकार बन्यो । पञ्चायत ढलेर २०४७ सालको नयाँ संविधान बनेपछि निर्वाचित शक्तिशाली सरकार । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री । महेश आचार्य अर्थ राज्यमन्त्री ।

राज्यमन्त्री आचार्यले आफ्ना दाई राजेश्वर आचार्यलाई राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव गरे । प्रधानमन्त्री कोइरालाले सहमति दिए ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ती भयो । शुरु भयो बैंकमा राजनीतिक कार्यकर्तालाई कर्मचारीमा नियुक्त गर्ने र पार्टी निकट व्यक्तिलाई मागेजति कर्जा स्वीकृति ।

सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको अधोगति यहिबाट शुरु भयो । खोलाको वगर र भीरपाखा धितो राखेर सरकारी बैंकबाट कर्जा लिने अभ्यास मौलाउँदै गयो । मौकामा चौका हान्नेहरुको लागि सुवर्ण अवसर थियो ।

त्यहिबेला चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएका हुन् । उनले मोमेन्टो एपरल्स नामक गार्मेन्ट कम्पनी खाेलेका थिए । बैंकका कार्यकारी अध्यक्ष राजश्वेर आचार्य सुसुरा । मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकाल ज्वाई । ज्वाई सुसुराको मिलिभगतमा कमजोर धितो राखेर करोडौं रुपैयाँ कर्जा प्रवाह भयो ।

२०५० देखि २०५५ सम्म गार्मेन्ट उद्योग मौलाए । अमेरिकाको बजारमा नेपाली गार्मेन्टले पाउँदै आएको सुविधा अन्त्यपछि गार्मेन्ट उद्योगहरु थला परे । मोमेन्टो पनि थला पर्यो । कम्पनीले बैंकको ऋण भुक्तानी गरेन ।

वाणिज्य बैंकमा अनुसार २०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित व्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान व्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ ।

चण्डिराज ढकालले नियतबश कर्जा भुक्तानी नगरेको भन्दैं बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रले उनको नाम र उनको कम्पनी मोमेन्टो एपरेल्सलाई कालोसूचिमा राखेको छ । कालोसूचीमा राख्नेबाहेक बैंकले कर्जा असुलीतर्फ अरु काम गरेन ।

२६ वर्ष पुरानो कर्जा असुलीमा बैंकले ठोस प्रयास किन गरेन ? बैंकका उच्च अधिकारी भन्छन् – ‘धितो कम छ । कर्जा धेरै छ । धितो बिक्रीबाट असुल हुनुपर्ने कर्जाको १० प्रतिशत पनि उठ्दैन ।’

मोमेन्टो एपिरियन्स र कृष्ण गार्मेट रेडियन्ट फन वेयर फेसन परियोजनाको नाममा ढकालले ९ करोड ३२ लाखको जग्गा र मेशिनरी उपकरण सहित धितो राखेर कर्जा लिएका थिए । कर्जा लिनका लागि त्यतिबेला धितोमा राखिएको मेशिनरी उपकरणको मूल्य घटेको छ भने जग्गाको मूल्य बढेको छ ।

२०७३ कात्तिकमा धितोमा राखिएको जग्गाको पुर्नमूल्यांकन गर्दा २० करोड १६ लाख रुपैयाँ धितोबाट असुली गर्न सक्ने देखिएको छ । ढकालले कर्जा धितोमा काठमाडौं सिनामंगलको २ रोपनी र झापाको भद्रपुरमा रहेको २ विगा १६ कट्ठा ८ धूर जग्गा राखेका छन् ।

‘शुरुको अवस्थाबारे मलाई धेरै ज्ञान भएन । चण्डिराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि शक्तिको दुरुपयोग गर्दै बैंकको कर्जा मिनाहा गर्न निरन्तर लागि परेका छन्’ एक जना पूर्व प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाउने सर्तमा भने-‘माओवादी द्वन्द्वको बेलामा एसएलआर लिएर तपाई सिध्याइदिन्छु भन्ने धम्की पनि दिए । कर्जा मिनाह गर्न प्रधानमन्त्री तहबाट फोन समेत गराए । तर हामीले कर्जा मिनाह गर्न मानेनौं ।’

नेपाली काँग्रेसको राजनीतिक संरक्षण र ज्वाई ससुराको मिलिभगतमा प्रवाह भएको कर्जा यतिबेला नेपाल कम्यूनिष्ट पार्टीको संरक्षरण तथा ऋणी चण्डिराज ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठको मिलोमत्तोमा मिनाह गरिदैछ ।

राजनीतिक हस्तक्षेपले डुबेका सरकारी बैंकहरु विदेशीबाट करिब ८ अर्ब रुपैयाँ ऋण लिएर २०६० को दशकमा सुधार गरिएको थियो । २०७० को दशकमा फेरी यी बैंक जोखिमपूर्ण बाटोमा अगाडि बढेको जानकारहरु बताउँछन् ।

चण्डिराज ढकाललाई ३ अर्ब ८५ करोड ऋण मिनाह गरिदै, राजनीतिक संरक्षणमा बैंकलाई नोक्सानी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.