भृकुटीमण्डपमा तेस्रो ‘बैंकिङ एक्स्पो’ शुरु, लगानीकर्तालाई लगानी सम्बन्धि जानकारी दिने

  २०७६ मंसिर १ गते १५:११     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि ‘बैंकिङ एक्स्पो २०१९’ शुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन् ।

तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा गभर्नर डा नेपालले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखेका छन् ।

वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करिब आठ खर्ब विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ ।

वित्तीय चेतना अभिवृद्धि पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ । प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ-आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले गर्ने कामका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पो मंसिर २ गतेसम्म हुने छ । उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारीमा उक्त एक्स्पोको आयोजना गरिएको हो । त्यस्तै, सहयोगी पार्टनरमा युवा स्वरोजगार कोष, नेपाल बैंकर्स एसोशियसन, नेपाल शैक्षिक परामर्श संघ, स्वसाईटी डेभलपमेन्ट लगायत डिजिटल बैंकिङ पार्टनरमा प्रभु पेको सहकार्यमा मिडिया इन्टरनेसनलले मेलाको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.