मेलम्चीको विकल्पमा सिस्नेरी खानेपानी आयोजना ! अध्ययन अघि बढाएका छौंः खानेपानी मन्त्री

  २०७६ कार्तिक २९ गते १९:१३     विकासन्युज


मकवानपुर । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको हो । शुक्रबार खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ ।

खानेपानी मन्त्री मगरले ललितपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिइन् । उनले यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजना भएको टिप्पणी गरिन् ।

‘ भोलिका दिनमा मेलम्चीमा कुनै समस्या आए त्यसले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या आउन सक्छ ।’ मन्त्री मगरले भनिन्, ‘त्यसको विकल्पका रुपमा दीर्घकालीन रुपले हामीले सिस्नेरी आयोजनाको अध्ययन थालेका हौं । सन् २०३० सम्म काठमाडौं उपत्यकाको जनसंख्यालाई हेर्दा मेलम्चीले धान्न सक्ला तर जनसंख्या बढ्दै गएपछि त्यसको विकल्प पनि हेर्नुपर्छ । त्यसैले ललितपुर क्षेत्रका लागि सिस्नेरी खोला आयोजनाको सम्भाव्यता अध्ययन अघि बढेको हो । चाँडै नै सिस्नेरी खोलाको डिपीआर पनि अघि बढाउँछौं ।’ उनले ललितपुरका लागि सिस्नेरी जस्तै भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलाको काम अघि बढाईएको जानकारी दिइन् ।

भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी संकलन गर्ने र उपत्यकामा पठाइने बताए । कार्यकारी निर्देशक राणाले दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने बताए । अहिले पूर्व सम्भाव्यता अध्ययन गर्दा करिब २६ अर्ब लगानी आवश्यक पर्ने उहाँको भनाई छ । ‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भईरहेको छ, ‘यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।’

आयोजनास्थल फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ ।

सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहने कार्यकारी निर्देशक राणाले जानकारी बताए । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने राणाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.