टेलिकमद्वारा मुख्य शहरमा फोरजी सेवा शुरु

  २०७६ कार्तिक २९ गते १६:११     विकासन्युज

डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो ।

टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताएका छन् । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । अन्य इन्टरनेटभन्दा फोरजी सेवा अर्थात् फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

सो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकमका प्राविधिक इन्द्रबहादुर कठायतले बताए ।

त्यस्तै, टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा समेत आफ्नो फोरजी सेवा विस्तारको तयारी गरिरहेको छ । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडानको कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका निमित्त प्रमुख प्रकाश चौधरीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.