उत्पादन लागत घटाउन वीरगञ्जमा बन्दैछ औद्योगिक कच्चा पदार्थ राख्ने अर्को बन्दरगाह

  २०७६ कार्तिक २९ गते ११:१९     विकासन्युज

काठमाडौं । सरकारले वीरगञ्ज सुक्खा बन्दरगाह नजिककै औद्योगिक कच्चा पदार्थ राख्ने छुट्टै बन्दरगाह निर्माण गर्ने भएको छ । सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । हाल सञ्चालनमा रहेको वीरगञ्जको सुक्खा बन्दरगाह नजिकै नयाँ सुख्खा बन्दरगाह निर्माण गर्न लागेको हो ।

हाल रहेको बन्दरगाहबाट नयाँ १० देखि १५ किलोमिटर आसपासमा औद्योगिक कच्चा पदार्थ राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढेको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक उत्पादनको लागत कम गर्न औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण गर्न लागेको हो,’ उनले भने-‘भारतसहित तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ सोझै रेलमार्गबाट आयात गर्न नयाँ बन्दरगाह निर्माण गर्न लागिएको हो ।’ उक्त बन्दरगाह निर्माण भएपछि फलामे तथा स्टिल रड, फ्लाई एस, बिटुमिन क्लिंकर, कोइलालगायत ३५ भन्दा बढी कच्चा पदार्थ राख्न सहज हुनेछ ।

सहसचिव ढकालले भने, ‘ढुवानीको लागत खर्च घटाउन र प्रदूषण न्यूनीकरण गर्न नयाँ बन्दरगाह निर्माण गर्न लागिएको हो । यो बन्दरगाह निर्माणपछि ढुवानीको क्रममा सिर्जना हुने विभिन्न प्रकारका अवरोध अन्त्य गर्न सहज हुने उनले बताए । बन्दरगाह निर्माण गर्न करिब ७० बिघा जग्गा आवश्यक रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयले यस अवधिमा बन्दरगाह निर्माण गर्न जग्गा खोजी गरी दुई तीन स्थानमा हेरिसकेको छ ।

जग्गा उपलब्ध भएपछि निर्माण लागत, भौतिक पूर्वाधारको खाकाको विषयमा टुंगो लाग्ने उनले बताए । उक्त बन्दरगाहसम्म वीरगन्जमा सञ्चालनमा रहेको हालको सुक्खा बन्दरगाहसँग सडक मार्ग र रेलमार्गको पहुँच विस्तार गरिने छ । वातावरणीय दृष्टिकोणले स्थानीय बासिन्दा र वातावरणलाई प्रभावित नहुने गरी बन्दरगाह निर्माण गर्न लागिएको हो । औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण भएपछि अहिलेको सुक्खा बन्दरगाह कन्टेनराइज्ड कार्गोका लागि मात्र प्रयोग गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.