अमेरिकामा नेपाल भ्रमण २०२० शुभारम्भ, अमेरिकी सिनेटरले गरे नेपाल आउने घोषणा

  २०७६ कार्तिक २८ गते १४:०१     विकासन्युज


काठमाडौँ । नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एशोसियशन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम शुरू गरेको छ । अमेरिकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका न्याय तथा कानून मन्त्री भानुभक्त ढकालले कार्यक्रमको सुरुवात गरेका हुन् ।

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रवासमा रहेर पनि नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा आफु निकै खुशी भएको र सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने बताए ।

बिदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्तद्द पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको बिशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान रहेका थिए । सिनेटर रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउँदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गरे । सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बीचमा आएर बोल्न पाउदा खुशी ब्यक्त गरे । उनले एट्लाण्टामा नेपाल दिबस मनाउन आफुले सिनेटमा प्रस्ताब लाने बताए ।

नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसीले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा नासाका पूर्व अध्यक्षहरू रामचन्द्र बराल र संजिव सापकोटा लगायतले शुभकामना सन्देश दिएका थिए ।

१९९१ मा एटलान्टाबाट नै शुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवाति बैठक पनि एटलान्टाबाट नै शुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट शुरु गरेको बताए । कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्षभरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।

यसैगरी भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरी भ्रमण बर्षको सन्देश जाने गरी अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरी चारवटा गाडी रोक्ने स्थल (बस चढ्ने र उत्रने सार्वजनिक स्थल) मा भ्रमण बर्षको तुलहरु राखिएको छ ।

सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन, नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण, सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतीक चिन्ह)लाई प्रोफाइल ( परिचय)को रुपमा प्रयोग गरी र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको सन्देश प्रयोग गर्न शुरु गरिएको छ ।

यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको सन्देश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष अर्यालले बताए । अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय रहेका संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.