जुम्लाका ३ हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी

  २०७६ कार्तिक २७ गते १३:४३     विकासन्युज

खलङ्गा । सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो ।

जुम्लामा तीन हजार ७८ वटा प्रतिष्ठान रहेका छन् । तीमध्ये एक हजार ५ सय ११ (४९.२७ प्रतिशत) दर्ता भएका र एक हजार ५ सय ५६ (५०.७३ प्रतिशत) दर्ता नभएका प्रतिष्ठानको गणना भएको थियो । यसैगरी जुम्लामा ती प्रतिष्ठानमा आठ हजार ४६३ जनाले रोजगार पाएका छन् ।

कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गरेको प्रतिवेदनमा कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान र यसमा रोजगारी पाउने व्यक्तिको सङ्ख्या कम भएको बताइएको छ । प्रतिवेदनमा कर्णाली प्रदेशमा ४२ हजार ८०७ वटा आर्थिक कारोवार गर्ने प्रतिष्ठानको गणना भएको छ । देशभरमा गणना गरिएका प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ३५६ रहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आर्थिक गणनाले एउटा मार्गचित्र तयार हुने र आगामी दिनमा काम गर्न सहयोग भएको बताएका छन् । उनले देशकै आर्थिक आकार दिने आर्थिक गणनाले सहयोग गर्ने भन्दै जुम्लाको आर्थिक अवस्था बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

कोष तथा लेखानियन्त्रक रामप्रसाद बिडारीले आर्थिक तथ्याङ्क अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै यसले योजना मूल्याङ्कन गर्न सजिलो हुने भएकाले सोहीअनुसारको काम सरोकारवाला निकायले गर्ने बताए ।

नेपाल सरकारले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गते सम्म आर्थिक गणना गरेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.