अर्थमन्त्री खतिवडा भन्छन्-‘बैंक तथा वित्तीय संस्थालाई कसैको करकाप र हतारमा मर्जर गरिँदैन’

  २०७६ कार्तिक २७ गते १३:२७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान बैंक तथा वित्तीय संस्थाहरुलाई बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् । बुधबार कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था मर्जर ऐच्छिक कुरा हो’, उनले भने– ‘बैंक मर्जर कसैको करकाप र हतारमा गरिँदैन । कानून पालना गर्नु सबैको कर्तब्य हो ।’

केही कमजोर वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बाध्यकारी मर्जरमा लैजाने तयारी गरिरहेका बेला सरकारको तर्फबाट बाध्यकारी मर्जरको विपक्षमा धारणा बेलाबखत आउने गरेको छ । अर्थमन्त्री खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव पनि नरहेको बताए । दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरीवेक्षण, निष्कृय कर्जा, र सपूर्ण व्यवस्थापनको हिसाबले तुलनात्मक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. चिन्तामणी शिवाकोटीले कमजोर बैंकहरुले मर्जरमा जानु भन्दा अर्को बिकल्प नभएको बताए । उनले अब राष्ट्र बैंंकले छिट्टै नै दुई महत्वपूर्ण कार्यक्रम ल्याउने योजनामा समेत रहेको उल्लेख गरे । ‘राष्ट्र बैंकले डिसेम्बरबाट सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआएएस) कार्यक्रम लागू गर्दैछ।’ उनले भने–‘यसका लागि बैंकहरुले ठूलो लगानी गर्नु पर्ने हुन्छ, त्यो लगानी गर्न नसक्ने बैंकले मर्जरमा जान बाहेकको विकल्प छैन ।’

कामना सेवाका ५२ शाखा  विस्तार 
कामना सेवा बैंकले वार्षिकोत्सव कार्यक्रममा देशका ५२ ठाउँमा ५२ शाखा  विस्तार गरेको छ ।  १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो । अब बैंकका देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । कामना सेवा बैंकले आफ्नो केन्द्रीय कार्यालय समेत उद्घाटन गरेको छ ।

बैंकका संस्थापक कृष्ण आचार्यले कामना विकास बैंक आफ्नै खुट्टमा उभिन सक्ने भएको हैसियत भएकोले मर्जर आवश्यक नभएको प्रतिक्रिया दिए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामना विकास बैंकलाई एक अब्बल वित्तीय संस्थाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले राष्ट्र बैंकले जारी गर्ने सम्पूर्ण नीतिनियमहरु पालना गर्ने मध्येको एक बैंक कामना सेवा रहेको उल्लेख गरे ।

हाल बैंकले २६ अर्ब बराबरको निक्षेप संकलन गरेको छ भने २२.५ अर्ब ऋण प्रवाह गरेको छ । समग्र विकास बैंहरुमा ७ प्रतिशत हिस्सा कामना विकास बैंकले ओगटेको कार्यक्रममा बताइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.