भैरहवा सेजको पहिलो उद्योग शक्ति मिनरल्सले शुरु गर्यो उत्पादन, ३३ लाखको विदेश निर्यात

  २०७६ कार्तिक २७ गते १०:२०     राजाराम न्यौपाने


काठमाडौं । भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापित पहिलो उद्योग शक्ति मिनरल्स प्रालिले उत्पादन शुरु गरेको छ । उक्त उद्योगले उत्पादन गरेको ५० लाखको बस्तु मध्ये ३३ लाखको बराबरको विदेश निर्यात गरेको छ । वार्षिक १ अर्बको उत्पादन गरी विदेश निर्यात गर्ने कम्पनीले जनाएको छ ।

गत असारदेखि शक्ति मिनरल्स सञ्चालनमा आएको हो । उक्त उद्योगबाट अहिले परीक्षण उत्पादन अहिले परीक्षण भइरहेको र उत्पत्तिको प्रमाणपत्रसहित प्रशासनिक प्रक्रिया सम्पन्न गरी सामान निर्यातको सुरु गरेको छ ।

शक्ति मिनरल्स खनिज उत्खनन् तथा अन्वेषणमा आधारित उद्योग हो । यसले खनिज पदार्थ डोलामाइट र लाइमस्टोन प्रशोधन गरी पाउडर र फ्ल्क्स (टुक्रा) उत्पादन गर्छ । लाइमस्टोन र डोलामाइटको पाउडर तथा फ्ल्क्सहरू फलामे छड उद्योगमा प्रयोग हुन्छ । हाल यी वस्तुहरु टर्की, इरान, मलेसिया लगायतका मुलुकबाट आयात भइरहेको छ ।

४० करोडको लगानीमा स्थापित यो उद्योगको दैनिक १५ सय टन प्रशोधन गर्ने क्षमता रहेको उद्योगका निर्देशक दीपकुमार झाले जानकारी दिए । उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको कम्पनीले जानकारी दिएको छ ।

सेजका सूचना अधिकारी सुन्दर थापाले ५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज)मा ६९ वटा प्लट रहेको बताए । ती मध्ये ५० वटा प्लटमा उद्योग स्थापना भैइसकेको र बाँकी १९ वटा प्लटमा उद्योग स्थापना हुन बाँकी रहेको बताए । भैरहवा सेजमा स्थापित स्टील, एलइडी लाइट र आल्मोनियम उद्योगे पनि उत्पादनको अन्तिम चरणमा रहेको बाताए । सेजमा स्थापित उद्योगहरूलाई सरकारले कर छुट सुविधा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.