सरकारले करका दर चलायाे, गहना र तेलकाे मूल्य बढ्ने, तर कुखुरा र वाइनको मूल्य घट्ने

  २०७६ कार्तिक २६ गते १७:५३     विकासन्युज

काठमाडौँ । सरकारले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा ठूलो परिवर्तन गरेको छ । कुनै बस्तुको करका दरमा ५० प्रतिशत छुट गरिएको छ भने केही बस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । विगतमा भन्सार छुटमा आयात हुँदै आएको औद्योगिक बस्तुहरुमा ५ प्रतिशत भन्सार कर लागू गरिएको छ ।

कपालमा प्रयोग हुने कस्मेटिकजन्य मालबस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । यसअघि मूल्यमा ५ प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा अब १० प्रतिशत अन्तशुल्क लाग्ने जनाइएको छ । त्यस्तै फलाम वा इस्पातको सरसफाइ सम्बन्धी सामान र तिनका पार्टपूर्जामा ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । यसअघि यी बस्तुमा अन्तशुल्क छुट थियो ।

व्यवसायिक प्रयोजनका लागि आयात हुने सुनमा प्रति १० ग्राममा ६ हजार ५०० रुपैयाँ भन्सार लाग्ने भएको छ । यसअघि प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार लाग्दै आएकोमा १ हजार ५ सय रुपैयाँ वृद्धि गरिएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक रुपमा आयात हुने चाँदीमा पनि भन्सार कर वृद्धि गरिएको छ । प्रति १० ग्राम ५६ रुपैयाँ भन्सार लाग्दै आएकोमा कात्तिक २५ गतेदेखि ७५ रुपैयाँ लगाइएको छ ।

उता, विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा पनि भन्सार वृद्धि गरिएको छ । पहिलो ६ हजार २ सय लाग्ने सुनमा अब ७ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने सुनमा ८५०० रुपैयाँ लाग्ने भएको छ । यस अघि ९ हजार रुपैयाँ लाग्दै आएको सुनमा अब १० हजार रुपैयाँ लाग्ने सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

कुखुराको मासु र वाइन सस्तो हुने
कुखुराको चल्ला कोरल्नका लागि  फूलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट गरिएको छ । यसले कुखुराकाे मासु र अण्डाकाे मूल्य घटाउन मद्दत गर्ने छ ।  त्यस्तै, फलफूल र तीनबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्र भएको स्वदेशी वाइन बाहेक अन्य स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्तशुल्कको दरमा ३० प्रतिशत छुट गरिएको छ । यसले वाइनकाे मूल्य घटाउन सहयाेग गर्नेछ । सरकारले तयारी रङ्ग उत्पादन गर्ने उद्योगहरुको कच्चा पदार्थको रुपमा प्रयोग हुने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार कर लाग्दै आएकोमा उद्योगको नाममा पैठारी भएमा २० प्रतिशत मात्र भन्सार लाग्ने छ ।

आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा यति धेरै परिवर्तन हुँदा उद्योगी व्यवसायीलाई समस्या पर्ने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । ‘उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक वर्षको लागि आफ्नो व्यवसायिक योजना बनाइ आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गरिरहेका हुन्छन । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्दा धेरै समस्या हुन्छ’ चेम्बरले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भएको चेम्बरले जनाएको छ । तर, सुन तथा चाँदीमा पैठारीमा र बिदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धि हुनु, कपालमा प्रयोग हुने कस्मेटिक्स ,फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले एकातर्फ अनधिकृत व्यापार वृद्धि हुने सम्भावना प्रवल रहने हुन्छ भने अर्कोतर्फ यसबाट मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाइ प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भइ महंगीको मारमा पर्ने समेत चेम्वरको ठहर रहेकोछ’ चेम्बर अफ कमर्शले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.