१३ वर्षदेखि थुपारिएको सिसडोलको फोहर व्यवस्थापन गरिँदै

  २०७६ कार्तिक २६ गते ११:४२     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुन नसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने स्थान नहुँदा थुपारिएको फोहरलाई व्यवस्थापन गर्न लागिएको हो । उक्त स्थानमा आगामी दिनमा फोहर नराख्ने गरी र जम्मा गरिएको फोहरले स्थानीयवासीलाई असर नपर्ने गरी व्यवस्थापनको काम गर्न लागिएको हो ।

बढीमा अबका चार महिनामा दीर्घकालीन रूपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडामा फोहर राख्न सकिने गरी काम भइरहेको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए ।
सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्र रूपमा अघि बढेको जनाएको छ । निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ ।

मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.