प्रदुषण घटाउने इन्धन नेपालमा आउँदै, वैशाखबाट यूरो ६ सर्वसाधारणको पहुँचमा

  २०७६ कार्तिक २५ गते १२:३५     विकासन्युज

काठमाडौं । अब नेपालमा वातावरणमैत्री यूरो ६ मापदण्डअनुसारको इन्धन आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आफ्नो देशका सबै रिफाइनरी केन्द्रलाई यूरो ६ को मापदण्ड अनुसार अपग्रेट गरिरहेकोले नेपालले पनि सो मापदण्ड अनुसारको तेल भित्र्याउन लागेको हो । भारतका सबै रिफाइनरी केन्द्रमा यूरो ६ मापदण्डअनुसारको इन्धनमात्र उपलब्ध हुने भएको र नेपालमा भारतबाटमात्रै इन्धन आउने सम्झौताअनुरुप यस्तो अवसर पाउन लागेको हो ।

आईओसीको रिफाइनरी केन्द्रले पनि आगामी मार्चपछि युरो ४ मापदण्डको इन्धन उत्पादन पूर्ण रूपमा बन्द गरी युरो ६ मापदण्डमा जाने तयारी गर्दैछ । नेपाल आयल निगमले आईओसीले उत्पादन गर्ने इन्धन खरिद गरी नेपालमा भित्र्याउँदै आएको छ । नेपालमा आईओसीबाट इन्धन खरिद गर्ने सम्झौता भएकोले उसले यूरो ६ मापदण्ड अनुसारको इन्धन नेपाल पठाउने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यूरो ४ मापदण्डको इन्धन वातावरण प्रतिकूलित भएकोले वातावरण अनुकूलित इन्धन भित्र्याउने तयारी भएको गोइतले जानकारी दिए । हाल प्रयोगमा आइरहेको ‘यूरो ४ मापदण्डको इन्धनमा सल्फूरिक एसिडको मात्रा ५० पीपीए रहेको छ,’ उनले भने-‘यूरो ६ मा १० पीपीएमात्रै सल्फूरिक एसिड हुन्छ ।’ इन्धनमा जतिमात्रामा सल्फूरिक एसिड बढी हुन्छ, त्यतिनै वातावरण अनुकूलित मानिन्छ । सल्फरडाइअक्साइड वातावरणमा घुलेपछि वातावरणमा रहेको पानीसँग रासायनिक प्रतिक्रिया गरेर सल्फूरिक एसिड बनाउँछ ।

जसको कारण अम्लिय वर्षा हुन गई सम्पदा तथा भौतिक पूर्वाधार नष्ट गर्न सघाउँछ । यो पानीमा मिसिएपछि छाला रोग तथा क्यान्सर लाग्न सक्छ । यसबाट फोक्सोको क्यान्सर हुनाका साथै श्वासप्रश्वास सम्बन्धि रोग लाग्न सक्छ । अम्लिए वर्षाको कारणले बोटबिरुवाले दैनिक चक्र पूरा गर्न समस्या उत्पन्न हुन्छ । वन विनाशमा सहयोग गर्छ । कृषि योग्य जमिनको उर्वर ह्रास ल्याई जमिनलाई मरुभूमिकरण गर्छ । यूरो ६ मापदण्डको इन्धन हालसम्मको वातावरणमैत्री इन्धन भएको गोइतले जानकारी दिए ।

असोजदेखि नेपालमा यूरो ६ मापदण्ड अनुसारको इन्धन भित्रिसकेको छ । निगमका अनुसार एक व्यवसायीले आईओसीको मथुरा रिफाइनरीबाट दैनिक २० हजार लिटर युरो ६ मापदण्डको इन्धन नेपाल भित्र्याइरहेका छन् । युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहनेको हकमा निगमले अनुमति पत्र उपलब्ध गराउँदै आएको छ । गोइतका अनुसार युरो ६ को इन्धनमा सल्फरको मात्रा १० पीपीएम मात्र हुने भएकोले यो इन्धन प्रयोग गर्दा सवारी साधनबाट निकै कम मात्रामा प्रदूषण निष्काशन हुन्छ ,’ गोइतले भने । बढी गुणस्तरको इन्धन प्रयोग गर्दा सवारीसाधनले माइलेज बढी दिनुका साथै इन्जिनसमेत चाँडै नबिग्रिने उनले बताए । नेपालमा सन् २०१७ को अप्रिलदेखि युरो ४ मापदण्डको इन्धन बिक्री गर्ने व्यवस्था मिलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.