२ करोडमा निर्माणधीन दाना उद्योगले माघदेखि उत्पादन गर्ने, किसानलाई फाइदा

  २०७६ कार्तिक २५ गते ८:२९     विकासन्युज


हेटौँडा । दूध, केरा तथा दलहन कृषि उपजहरुको उत्पादनमा फड्को मारेको मकवानपुरगढी गाउँपालिकामा पशुआहारा उत्पादन गर्ने उद्योग सञ्चालन हुने भएको छ । प्रदेश ३ सरकारको सहयोगमा मकवानपुरगढी गाउँपालिका– ३ मा निर्माणाधीन दाना उद्योग आगामी माघदेखि सञ्चालनमा आउने भएको हो ।

गाउँपालिकाको मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टीकृत सहकारी सङ्घले प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग निर्माण सम्झौता गरेको १० महिनामा उद्योग सञ्चालन हुने भएको हो । उद्योगको सम्पूर्ण उपकरणहरु नेपाल भित्रिसकेको र भवन निर्माणको सम्पूर्ण काम सकिएकाले माघ महिनाबाट उद्योग सञ्चालनमा आउने उद्योग निर्माण गरिरहेको सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले जानकारी दिए ।

प्रदेश सरकारको करिब रु दुई करोड लागतमा निर्माणाधीन उद्योगको कार्यालय प्रयोजनका लागि गाउँपालिका कार्यालयले रु २५ लाखमा अलग्गै भवनसमेत निर्माण गरिदिएको अध्यक्ष कँडेलले जानकारी दिए । नवनिर्मित उद्योगको उत्पादन जिल्लाभरका किसानका गाईवस्तुलाई पुग्ने हुँदा सहकारीमार्फत जिल्लाका सबै किसान कहाँ दाना पुग्ने वातावरण निर्माण गरिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए ।

अलगअलग गाउँपालिकाका फरकफरक उत्पादनहरु आदानप्रदान गराई जिल्लाका स्थानीय तहहरुबीच समन्वय गराएर कम लागतमा उत्पादन बढाउने भूमिका खेलिने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए । किसानहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकारले गरेका प्रयासमा साथ दिएर अगाडि बढ्ने उनको भनाइ छ । जिल्लाको उत्पादकत्व वृद्धि गरी हरेक कृषि उपजमा मकवानपुरलाई आत्मनिर्भर बनाउन लागिने प्रमुख खुलालले बताए ।

उद्योगको सञ्चालनपछि स्थानीय किसानहरु बढी लाभान्वित हुनेछन् भने जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकाका किसानहरुलाई पनि सहज हुने दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय अध्यक्ष नारायण देवकोटा बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.