आधाले घट्यो वैदेशिक सहायता, तीन महिनामा पौने १६ अर्बमात्रै

  २०७६ कार्तिक २४ गते १७:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक सहायता ४३.५१ प्रतिशतले घटेको छ । गएको आवमा सोही अवधिमा २७ अर्ब ७६ करोड वैदेशिक सहायता प्रतिवद्धता भएकोमा यस आवमा घटेर १५ अर्ब ६८ करोडमा सीमित भएको छ । गत भदौसम्म यस्तो प्रतिवद्धता रकम १२ अर्ब ३५ करोड पुगेको थियो । चालु आवमा भएको सहायता प्रतिवद्धतामा अनुदानको हिस्सा बढी रहेको छ भने ऋणको अंक कम छ । गएको आवको सहायता प्रतिवद्धतामा ऋणको अंक बढी थियो ।

सो सहायता रकममध्ये ७८.८ प्रतिशत अनुदान सहायता हो भने २१.२ प्रतिशत ऋण सहयोग भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गएको आवमा यस्तो हिस्सा क्रमशः १६.२ प्रतिशत र ८३.८ प्रतिशत रहेको थियो । असोजसम्म प्रतिवद्धता भएको सहायतामध्ये ३ अर्ब ३३ करोड भूकम्प प्रभावित क्षेत्रमा घरहरूको पुनर्निर्माण र शिक्षा तथा स्वास्थ्य सेवा पुर्याउन हो ।

नेपालले सन् १९५१ देखि विकास सहायता लिन थालेको हो । नेपाललाई विश्व बैंक, एसियाली विकास बैंकबाट बहुपक्षीय साझेदारले ऋण र अनुदान प्रदान गर्दै आएको छन् । द्विपक्षीय साझेदारहरू अष्ट्रेलिया, चीन, डेनमार्क, फिनल्यान्ड, जर्मनी, भारत, जापान, कोरिया, कुवेत, नेदरल्याण्ड, नर्वे, साउदी अरब, स्वीजरल्याण्ड, बेलायत, र अमेरिकालगायत राष्ट्रबाट विकास सहायता प्राप्त हुँदै आएको छ ।

आर्थिक विकासको मुख्य साधनको रूपमा वैदेशिक सहायतालाई नेपालले स्वीकार गर्ने गरेको छ । यसका साथै गरिबी निवारण, बचतमा वृद्धि, लगानीमा सन्तुलन र वृद्धि गर्ने, विदेशी प्रविधि भित्र्याउने, लोक कल्याणी राज्य स्थापानार्थ वैदेशिक सहायता भित्र्याउने गरिएको छ । नेपालले पहिलो पटक अमेरिकाको पाइन्ट फोर प्रोग्राम अन्तर्गत दूरसञ्चारको विकासका लागि सहायता लिएको थियो । तर, यसको विस्तार पहिलो पञ्चवर्षीय योजनादेखि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.