अढाइ दशकपछि भारतद्वारा नहर निर्माणको थालनी

  २०७६ कार्तिक २२ गते १६:३६     विकासन्युज

भीमदत्तनगर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले सम्झौताअनुसार नेपालको सिमानासम्म एक हजार २०० मिटर मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन अग्रसरता देखाएको छ ।

भारतले आफ्नो भूमि पर्ने क्षेत्रमा बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणका लागि सर्वे भएको करिब १८ वर्ष भइसकेको बताउँदै स्थानीयवासी कार्कीले नहरमा पानी बग्नेमा आफू ढुक्क नभएको बताए ।

“सर्वे भएको ठाउँभन्दा केही मिटर दक्षिणतर्फ भारतले नहर निर्माणका लागि ठेक्का दिएर वन क्षेत्र खाली गराएर काम थालेको छ”, उनले भने, “नहर सर्वेभन्दा तल सार्नुको अर्थ अहिल्यै थाहा हुँदैन ।” एक दशकअघि सोही क्षेत्रको नेपाली भूमिबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल निर्माण थालेको थियो ।

करिब १३ किलोमिटर मूल नहर बने पनि शाखा नहर बनाउने र सिँचाइका लागि किसानको खेतमा पानी पुर्याउने योजना भने अझै नदेखिएको कार्कीको भनाइ छ । यहाँस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले १८ महिनामा सक्ने गरी भारतीय पक्षले एक हजार २०० मिटर नहर र नहरको हेडरेगुलेटर निर्माणको थालनी गरेको बताए ।

“एक हजार २०० मिटर भूमिमा वन परेकाले त्यहाँको स्वामित्व लिएर नहर खन्न भारतीय प्रक्रियागत कारणले ढिलाइ भएको भारतीय एनएचपिसीको भनाइ छ”, निर्देशक थापाले भने, “अब नहर निर्माण हुनेमा आशङ्का गर्नुहुन्न ।” यसअघि पनि भारतीय पक्षले नहर निर्माणका लागि ठेक्का आह्वान गरे पनि प्राविधिक कारण देखाउँदै ठेक्का प्रक्रिया रद्द गरेको थियो ।

मटेनादेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहरको दोस्रो चरणमा हाल १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य रहे पनि निर्माणको गति भने सुस्त छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.