बाख्रा पालनः यस्ता छन् सुधारका उपाय

२०७६ कार्तिक २२ गते १६:०१ डा.श्रीभगवान् ठाकुर

परिचयः
नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको छ । विशेष गरी तराई र पहाडमा गरीब कृषकहरू ३ देखि ४ वटा बोका बाख्राहरू पालेर गरी जीविका चलाई रहेका हुन्छ । तिनीहरूले बोकालाई खसी बनाएर, तथा पाठापाठी बिक्रीगरी आफ्नो गर्जो टार्ने गर्दछ । बाख्रालाई गरीवको गाई पनि भनिन्छ । तराई मधेशमा बाख्राहरू प्रायःखुल्ला चरीचरणमा, परम्परागत तथा अव्यवस्थित तरीकाले पालनगर्दा नश्लको क्षमता अनुसार उत्पादन लिन सकि रहेको अवस्था छैन ।

परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नभएकोले बाख्रालाई थप तनाव हुनगई बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने गरेका छन् । प्रायः तराई मधेशमा बाख्रालाई बर्षा र शितलहरीले विभिन्न किसिमका रोगहरू लागेर मृत्यू हुने गर्दछन् । यस परिप्रेक्ष्यमा बाख्राकोे खोर सुधार गरी जलवायु समानूकुलित खोरनिर्माण अति आवश्यक रहेको छ । बाख्राको खोर बनाउँदा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन हुने समेत देखिएको छ ।

महत्वः
बाख्राकोे खोर सुधार गर्दा जलवायु परिवर्तनको असर न्यून गर्न सकिन्छ । बाख्राकोे उत्पादनका महत्वपूर्ण ४ खम्बाहरू (खोर, नश्ल, आहारा र स्वास्थ्य) मध्ये खोर व्यवस्थापन प्रमुख हुन् । परम्परागत खोर अँध्यारो, सूर्यको प्रकाश नपर्ने, चिसो भएकोले उपियाँ, जुम्रा, तथा सुलसुले जस्ता बाह्य परजिवीको आक्रमण तिब्र हुनुका साथै संक्रामक रोगका जीवाणु, विषाणु तथा ढुसीको बृद्धिविकास तिब्र भई बाख्राहरू बिरामी भई रहन्छ । हावा नखेल्ने खोर बाफिलो, दिसा पिसावले दुर्गन्धित र चिसो हुने भएकोले श्वास प्रश्वास संबन्धि रोग (निमोनिया)ले बाख्राहरू विरामी पर्ने गर्दछन् ।

डा.श्रीभगवान् ठाकुर

सूर्यको प्रकाशले रोगका जीवाणुहरू नष्ट हुनुका साथै पशुको शरीरमा विभिन्न प्रकारका भिटामिनहरूको निर्माण हुन्छ । खोरसुधारले बाख्राकोे सोत्तर, बडकौला र मूत्र व्यवस्थापन हुने र घाम, पानी, चिसो, हावाहुरी, वर्षा, असिना जस्ता तनावलाई घटाई र मौसमी तनावले हुन जाने रोगव्याधिमा कमी हुन्छ । यसबाट घाँस तथा दानाको उपभोगमा बृद्धि हने र आहारको प्रभावकारीता बढ्ने हुन्छ । फलःस्वरूप बाख्राकोे उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

ठाउँको छनौटः
खोर ओभानो, सुखा तथा पानी नजम्ने खालको उच्च, समथर र कम्तीमा दिनमा ५–६ घण्टा सूर्यको प्रकास पर्ने, जोडसँग हावा नचल्ने तर हावाको आवागमन राम्रो भएको ठाउँको छनौट गर्नु पर्दछ ।

खोरको लागि आवश्यक क्षेत्रफलः
सुधारिएको खोरको आवश्यक लम्बाई चौडाई तथा उँचाईको विवरण तल उल्लेख गरिएको छ ।

सुधारिएको खोरको नमूना
खोर निर्माण गर्दा प्रति वयस्क बाख्राको लागि सरदर ६ वर्ग फिट ठाउँको आवश्यक्ता पर्दछ । खोरमा स्थानीय सामग्रीहरू काठ बाँसहरू प्रयोग गर्नु पर्दछ । खोर निर्माण गर्दा पहाडमा दक्षिण वा पूर्व र तराई मधेशमा उत्तर पश्चिम मोहडा पारी बनाउनु पर्दछ । खोर बनाउँदा चित्रमा देखाए अनुसार जमीनबाट ३ फिटको उचाईमा, ७ फिट लम्बाई र ६ फिट चौडाईको खोर बनाउदा सुहाउँदो हुन्छ ।

खोरको भूईंक्षेत्र निर्माण विधिः
खोरको भूँईक्षेत्र कडा, पानी नजम्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नु पर्दछ । त्यसको लागि सेमेन्ट, गिटिबाट ढलान गरेर वा ईटा छपाएर वा ढूँगा छपाएर वा चिम्टयाईलो माटोले खोरको भूईनिर्माण गर्नु पर्दछ । खोरको भूँईक्षेत्र निर्माण गर्दा निकाशतर्फ ३ प्रतिशतको भिरालो बनाएर पाईपको माध्ययमले पिसाव जम्मा हुने खाल्डोमा पुर्याउनु पर्दछ । जस्ले गर्दा भुई सफा हुनुका साथै मिथेन ग्यासको उत्सर्जन भई दुर्गन्ध हुदैंन ।

खोरको टाँड निर्माण विधिः
खोरको टाँड बनाउँदा आधा ईन्चको फरकमा काठको २ ईन्च चौडाई र आधा ईन्च मोटाईको फल्याक वा बाँसको भाटा बनाई किलाले ठोक्नु पर्दछ । यस्तो टाँड बनाई बाख्रापालन गरेमा कक्सिडियोसिस तथा फिते जुका कमलाग्ने गर्दछ । साथै १०–२० प्रतिशत मृत्यूदर घटेको पाईएको छ । गर्मीको तनाव घटाएर जिउँदो वजन ६०–७० ग्राम देखि ७८–८६ ग्राम प्रतिदिन बढोतरी हुन सक्दछ ।

खोरको छाना निर्माणः
छाना बलियो टिकाउ पानी नचुहिने, तापक्रमको कुचालक तथा आकर्षक हुनु पर्दछ । छाना पानी नथामिने भिरालो हुनु पर्दछ । स्थान र मौसम अनुसार छाना १२ देखि ३५ डिग्रीसम्म भिरालो हुन सक्दछ । छाना खर तथा २५–२६गेजको वा ०.३२ एम.एम. जी. आई. जस्ताको हुनु पर्दछ । भिरालो छाना भएको खोरमा अग्लो भागतिर पर्खालको उँचाई ६ देखि ६.५फिट र बलेनीतिर ५ फिट उचाईको पर्खाल बनाउनु पर्दछ । गर्मीबाट बचाउन सकभर खरको छाना प्रयोग गनर्् पर्दछ अथ्वा जस्ता पाताका छाना भए माथिबाट खर १ईन्च बाक्लो गरी खर ओछ्याउनु पर्दछ । बढी तापक्रम हुने स्थानमा अर्धसधन विधि अर्थात आधाखुल्ला आधाबन्द विधिवाट बाख्रापाल्नु पर्दछ ।

पर्खाल क्षेत्र र भेन्टिलेशनः
खोरको पर्खाल मजबुत अर्थात बलियो हुनु पर्दछ । छेउको पर्खालमा ५ फिटसम्म काठको फल्याक वा बाँसको टाटी लगाएर माथि बाँकी भाग हावा आवागमनका लागी जाली वा सानो द्मयाल लगाउनु पर्दछ । पर्खाल बनाउन समस्या भए जस्ता पाताले घेरेको हुनु पर्दछ । चित्रमा देखाए अनुसार अग्लो पर्खालपट्टि १.५ फिटको लम्बाई चौडाईको पूर्व दक्षिण तिर भेन्टिलेशनको लागि झयाल बनाउनु पर्दछ । उच्च पहाडमा बाख्राको खोरलाई अग्लो बनाउनु हुदैंन ।

जाडोयाममा चिसोबाट बचाउन चित्रमा देखाए जस्तै ज्टको बोरा वा प्लाष्टिकले खोरलाई राती ढाक्नु पर्दछ र दिनमा घाम परेको बेला दोबारेर खोल्नु पर्दछ । गर्मीयाममा तातो हुन नदिन द्मयाल तथा भेन्टिलेशन खोलेर राख्नु पर्दछ ।

खोरको ढोकाः
खोर बनाउँदा ५ फिट फराकिलो र ३.३३ फिट उँचाईको ढोका बनाउनु पर्दछ । ढोका काठ वाबाँसको भरयाङ्ग हुने किसिमको माथिबन्द गर्ने खालको बनाउनु पर्दछ ।

घाँस झुन्ड्याउने विधिः
खोर बनाउँदा खोर भित्र बीचमा ३.३३ मिटर उचाई भएको बाँस वा काठको लठीको क्रस गरी घाँस राख्ने टाट्नो जस्तो बनाएर घाँस राखी खुवाउनु पर्दछ वा स्थानीय बुनेको जुट वा प्लाष्टिकको ठुलो प्वालभएको जालीमा राखी घाँस खुवाउनु पर्दछ जसले घाँस खेर नगई बढी सदुपयोग हुन्छ ।

पानीको व्यवस्थापनः
बाख्राको लागि सफा, गन्ध नभएको, आरसेनिक नभएको पानी खुवाउनु पर्दछ ।

मल राख्ने खाडलः
एक वयस्क बाख्रोबाट प्रतिवर्ष १३८ किलोसम्म बडकौला मल प्राप्त हुन्छ । बडकौलामा भएको पोषक तत्वलाई बचाउन, मिथेन ग्याँसको उत्सर्जन न्यून गर्न तथा दुर्गन्ध आउन नदिन खोरभन्दा अलि टाढा मल राख्नु पर्दछ । १० फिटलम्बाई ३.३३ फिट चौडाई र ३.३३ फिट गहिराईको खाल्डो बनाउनु पर्दछ । प्रति घन मिटर खाल्डोमा ७०० देखि १००० किलोसम्म अटाउँछ । अमोनिया तथा मिथेन ग्याँस उत्सर्जन हुन नदिन हप्ताको दुई पटक खोरमूनिबाट बडकौला तथा पिसाव सफा गरी खाल्डोमा राख्नु पर्दछ ।

चुना छर्किनेः
बाख्रामा लाग्ने विभिन्न रोग तथा कीरालाई व्यवस्थापन गर्न खोरको टाँडमा हप्ताको एक पटक चुन पाउडर छर्नु पर्दछ ।

निश्कर्षः

जलवायु परिवर्तनले बाख्राको उत्पादन र उत्पादकत्वमा प्रत्यक्ष असर पारी उचित लाभ नभएको अवस्थामा दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउन प्रादेशिक सरकार एवं स्थानीय तह गाउँपालिका र नगर पालिकाले बाख्राको गोठ सुधारमा उचित रकम विनियोजन गरी गाउँघर सरसफाईका साथै कृषकहरूको आम्दानीमा बृद्धि गर्न सकिन्छ । (-मधेश दर्पण फिचर सेवाबाट)