ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबुलकार सरर, २ घण्टाको बाटो ५ मिनेटमै

  २०७६ कार्तिक २२ गते १४:३५     राजाराम न्यौपाने

काठमाडौं । ललितपुरको छपेलीदेखि माझखण्डसम्म ८४ करोडको लागतमा केबुलकार बन्ने भएको छ । छपेलीदेखि माझखण्डसम्म २ दशमलव ८ किलोमिटर क्षेत्रमा केबुलकार बन्ने भएको हो । ललितपुर जिल्ला बाग्मती गाउँपालिकाको ३ नम्बर वडाको छपेलीदेखि ५ नम्बर वडाको माझखण्डसम्म सञ्चालन हुने गरी केबलकार निर्माण हुने भएको हो । डेस्टिनेशन माझखण्ड प्रालिले निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ ।

२०७७ सालको दशैंमा केबुलकार सञ्चालन हुने गरी निर्माण शुरु हुन लागेको कम्पनीका अध्यक्ष गोपाल सञ्जेलले बताए । स्वीट्जरल्यान्डको आधुनिक प्रविधि प्रयोग गरेर केबुलकार निर्माण हुनेछ । केबलकारको गति प्रतिसेकेन्ड १० मिटरको हुनेछ र २ दशमलव ८ किलोमिटर ५ मिनेटमा पार गर्नेछ ।

अहिले छपेलीदेखि माझखण्ड पुग्न गाडीमा २ घण्टा लाग्छ । केबुलकार सञ्चालमा आएपछि २ घण्टाको बाटो ५ मिनेटमा नै पार गर्न सकिन्छ । नेपालमा हाल सञ्चालित केबलकारको एउटा खण्डमा ६ सीट मात्रै हुने गरेको छ । ललितपुमा बन्न लागेको केबुलकार २५ सीट क्षमताको हुनेछ । उक्त केबलकारको बीचबीचमा पोलहरु पनि हुँदैन । शुरु र अन्त्यको स्टेशनमा मात्रै पोल हुने जनाइएको छ ।

सो स्थानमा कम्पनीले केबलकार सहित ४० करोडको लागतमा तीनतारे होटल र ७ करोडको लगानीमा फनपार्क र रेस्टुराँ समेत सञ्चालनमा ल्याउने जनाएको छ । कूल लगानीको ८० प्रतिशत विदेशी लोन र २० प्रतिशत स्वदेशी लगानी रहने जनाइएको छ । केबलकार पार्किङसहित तल्लो स्टेशनका लागि १० रोपनी, माथिल्लो स्टेशनका लागि ५ रोपनी, तीनतारे होटलका लागि २० रोपनी तथा रेस्टुराँ र फनपार्कका लागि १० रोपनी गरी ४५ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ ।

कम्पनीका अध्यक्ष सञ्जेलले केबलकार, होटल र फनपार्क निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहमति जुटिसकेको बताए । यही महिनाबाटै निर्माण शुरु गर्ने समेत उनले बताए । नेपालमा हाल सञ्चालनमा रहेका केबलकारहरूमा अस्ट्रियाली कम्पनी डबल मायरको प्रविधि प्रयोगमा छ । तर, माझखण्डमा बन्ने केबलकार स्वीट्जरल्यान्डको बार्फोलेट कम्पनीले बनाउने गरी समझदारी (एमओयू) भएको छ । केबलकारका लागि चाहिने डब्बा लगायत सम्पूर्ण प्राविधिक काम बार्फोलेटले नै गर्ने सहमति भएको अध्यक्ष सञ्जेलले बताए ।

उनका अनुसार दुईओटा डब्बाले केबलकारको सेवा दिने गरी संरचना बनाइने छ । केबलकारको एक डब्बाले २ हजार किलोसम्म बोक्न सक्ने बताए ।

माझखण्डमा पर्यटकीय संभावना
स्थानीयवासीलाई आवतजावतमा फाइदा त हुने नै भयो, माझखण्डमा रुद्रेश्वर महादेवको मन्दिर र बौद्ध विहार छन् । छुट्टी मनाउनका लागि पनि केबलकारको उपयोग हुने र आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ । उक्त केबलकारको संरचना निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन(ईआईए) लगायत सबै प्रक्रिया पूरा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.