लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन

  २०७६ कार्तिक २२ गते १३:५१     विकासन्युज

काठमाडौं । सानो भर्याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५/०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिएका छन् ।

आव २०७६/०७७ को कात्तिक २० गतेसम्म रु ६० करोड ६४ लाख ४३ हजार राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ ।

असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ ।

कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिएका छन् । उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.