डीभी भर्नकै लागि २९ हजारले बनाए राहदानी, पौने ३१ करोड राजश्व संकलन

  २०७६ कार्तिक २२ गते १०:४५     सुनिता पुडासैनी

काठमाडौं । सन् २०२१ का लागि अमेरिकन डीभी आवेदन फारम खुलेको अवधिमा राहदानी विभागमा ३० करोड ७५ लाख ७४ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

गत असोज १५ गतेदेखि कात्तिक १९ गतेसम्म डीभी फारम भर्न समय तोकिएको थियो । यो अवधिमा दैनिक एक हजार ५० भन्दा बढी व्यक्तिले राहदानी विभागमा आवेदन दिने गरेका थिए । अरु समयको तुलनामा राहदानी विभागमा यो अवधिमा भीड बढेको थियो । यस पटकदेखि डीभी फारम भर्दा राहदानी नम्बर अनिवार्य गरिएको हो ।

विदेशमा घुम्न र कार्यक्रमहरुमा सहभागिता जनाउन जाँदा, बैदेशिक रोजगारी र अध्ययनका लागि राहदानी आवश्यक हुन्छ । तर, यस पटक डीभी भर्दा समेत राहदानी अनिवार्य भएपछि विभागमा भीड बढेको थियो । अन्य प्रयोजनका लागि भन्दा पनि यो अवधिमा डीभी भर्नकै लागि राहदानी बनाउनेको घुईँचो देख्न सकिन्थ्यो ।

राहदानी लिने तीन किसिमको प्रक्रिया छ । आवेदन फारम बुझाएको दिन अथवा एककै दिनमा चाहिए १५ हजार रुपैयाँ, दुई दिनमा चाहिए १२ हजार, तीन दिनमा चाहिए १० हजार रुपैयाँ तोकिएको छ ।

अक्टोवर दुई देखि नोभेम्बर पाँचसम्म डिभी आवेदन फारम खुले पनि नेपालका ठूलो चाडपर्व दशैं र तिहारको बिदाका कारण २३ दिन राहदानी विभाग खुलेको विभागका प्रशासन निर्देशक तथा सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए ।

तीन महिनामा ४३ हजारले लिए राहदानी

चालु आर्थिक वर्षको तीन महिनामा ४३ हजार ८ सय ९६ जनाले विभागबाट राहदानी लिएका छन् । डीभीका लागि राहदानी अनिवार्य गरेसँगै एक महिनामा २९ हजारभन्दा बढीले राहदानीका लागि आवेदन फारम भरेका थिए । यो संख्या अन्य महिनाको तुलनामा उच्च हो ।

आर्थिक वर्ष २०७३/७४ मा राहदानी लिनेको संख्या ५ लाख ५७ हजार एक सय ८८ थियो । आव २०७४/७५ मा घटेर ५ लाख ३१ हजार छ सय ३३ ले लिएका थिए भने गत वर्ष एक लाख २० हजार सात सय ६९ जनाले राहदानी लिएका विभागले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.