नेपालसँगको सीमा नक्शामा कुनै परिवर्तन नगरिएको भारतको दावी

  २०७६ कार्तिक २२ गते ८:४०     विकासन्युज


नयाँ दिल्ली । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दावी गरेको हो ।

कालापानी लगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले बिहीबार खण्डन गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सिमाना निर्धारणका लागि छुट्टै संयन्त्र र व्यवस्था रहेकाले त्यही अनुसार हुने स्पष्ट पारे ।

उनले कुनै विवाद वा समस्या रहेमा दुवै देशकाबीचमा वार्ता र छलफल गरेर समाधान निकालिने र एक अर्कामा स्पष्ट हुने पनि जानकारी दिए । दुवै देशको सरोकारका विषयमा दुईपक्षीय हित र मित्रताकै आधारमा टुङ्गोमा पुगिने प्रवक्ता कुमारले पत्रकारहरूलाई बताए ।

“नेपालसँगको सिमानामा पूरानै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन,’ प्रवक्ता कुमारले भने । उनले आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न तयार रहेको प्रतिबद्धता दोर्होयाए ।

प्रवक्ता कुमारले निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको र यसको विरूद्ध दुवै देशले संयुक्तरूपमा अघिबढ्नुपर्ने जरुरी रहेको पनि बताए । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.