घट्दो बजारमा यस्तो छ लक्ष्मी बैंकको अवस्था

  २०७६ कार्तिक २१ गते १७:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । जुन गत दुई वर्ष यताकै उच्च लाभांश दर हो । समग्रमा बैंकहरुले दिएको लाभांशअनुसार यो औषत दर हो ।

अघिल्लो वर्ष(आर्थिक वर्ष २०७४/७५मा) बैंकले सेयरधनीलाई ८.५ प्रतिशत बोनस र ०.४५ प्रतिशत नगद गरी ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा बैंकले कूल १०.५३ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद) वितरण गरेको थियो ।

गत असारमा बैंकको पुँजी पर्याप्तता अनुपात ११.३३ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम १० प्रतिशत भन्दा बढी हो । जसले गर्दा बैंकले साे मात्राकाे लाभांश दिन लागेकाे हाे । १५ प्रतिशत लाभांश दिन लागेको बैंकको सेयर मूल्य भने प्रतिकित्ता २२० रुपैयाँ रहेको छ । जुन मूल्य आजको दिनमा सस्तो हो ।  तर बीचमा अर्थात गत फागुन १२ गते बैंकको सेयर मूल्य प्रतिकित्ता १८३ रुपैयाँ रहेको थियो । त्यसपछि विस्तारै बढेर वैशाख १२ गते प्रतिकित्ता २४१ रुपैयाँमा खरिद बिक्री भएको थियो, जुन यस वर्षकै अधिकतम मूल्य हो ।

गत वैशाखमा प्रतिकित्ता २४१ रुपैयाँ पुगेको बैंकको सेयर मूल्य त्यसपछिको मूल्यमा केही उतारचढाव भएको थियो । उक्त समयमा यस बैंक एभरेष्ट बैंकसँग मर्जमा जाने हल्ला रहेको थियो । कहिले मर्जमा जाने हल्ला त कहिले नजाने हल्लाले कम्पनीको सेयर मूल्यमा उतारचढाव आएको हो ।

यस बैंकका प्रमुख संस्थापक सेयरधनी राजन खेतान हुन् । उनी आफै ठूला सेयर कारोबारी हुन् । जसले गर्दा कतै यो बैंकको सेयर कारोबारमा प्रभाव परेको हो की भन्ने पनि बजारमा आशंका गरिन्छ ।

बैंकले हालसम्म चालु आवको पहिलो त्रैमासिकको वित्तीय विवरण प्रकासित गरेको छैन । गत आवको अन्तिम त्रैमासिक(असार मसान्तकाे) वित्तीय विवरण अनुसार बैंकले ५४ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । जुन अघिल्लो त्रैमासिक(चैत मसान्तकाे)को तुलनामा २४ करोड रुपैयाँले बढी थियो । चैत मसान्तमा बैंकले ३० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, जगेडा कोषको रकम ५ लाख ६७ हजारले घटेर गत असारमा २ अर्ब १६ करोडमा झरेको छ । असारसम्म आईपुग्दा बैंकको निक्षेप पनि घटेर ७४ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ । गत चैतमा ७८ अर्ब २१ करोड रुपैयाँ संकलन भएको बैंकको निक्षेप असारमा तीन अर्ब ६७ करोड रुपैयाँले घटेको हो । कर्जा परिचालन चार अर्बले बढेर ७५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

गत असारमा रिटेन अर्निङ् ६० प्रतिशतले वृद्धि भई एक अर्ब ५५ करोड रुपैयाँ कायम भएको थियो । गत चैतमा बैंकले ९६ करोड ८६ लाख रुपैयाँ रिटेन अर्निङ् कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर १७.६७ रुपैयाँ पुगेको छ । जुन चैत मसान्तमा १५.३९ रुपैयाँ रहेको थियो ।

सो अवधिमा बैंकले निष्क्रिय कर्जा अनुपातमा केही सुधार गरेको छ । गत चैत मसान्तमा १.२० प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जालाई असारसम्म १.११ प्रतिशतमा झारेको छ । त्यस्तै, लोनलस प्रोभिजन घटेर १५२.९२ प्रतिशत पुगेको छ । चैतमा बैंकको लोनलस प्रोभिजन १६६.९४ प्रतिशत रहेको थियो ।

गत असारसम्म बैंकको ब्याज आम्दानी दुई अर्ब ४० करोड रुपैयाँले बढेर आठ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । ब्याज खर्च बढेर पाँच अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गैर परिचालन आम्दानी एक करोड ६ लाख रुपैयाँ र खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ ।

बैंकको कस्ट अफ फण्ड घटेर ७.०१ प्रतिशत, बेसरेट बढेर १०.३१ प्रतिशत र सीसीडी रेसियो घटेर ७७.१३ प्रतिशत हुँदा पुँजी पर्याप्तता अनुपात भने ११.३३ प्रतिशतमा छ । नेपाल राष्ट्र बैंकको परिमार्जित स्प्रेडदर गणना विधिअनुसार बैंकको ब्याजको स्प्रेडदर बढेर ४.३७ प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको सीमाभित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.