चीनमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाइने

  २०७६ कार्तिक २१ गते १२:१८     विकासन्युज


काठमाडौँ । चीनले बालबालिकाहरूलाई अनलाइन गेमको लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ ।

त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ । भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको अधिकारीहरूले बताएका छन् ।

अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो । मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ । जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन् ।

चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो । रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो । भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ ।

अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो । त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो ।

केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो ।

हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन । तर इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ ।

केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् र धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय राखेका छन् । (-बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.