भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

  २०७६ कार्तिक २१ गते ११:१५     विकासन्युज

गोरखा । गोरखा जिल्लामा भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिएका छन् ।

“जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पुर्याएको हो”, उनले भने, “त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।” इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए ।

भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २९५ विद्यालयको भवन पुनःनिर्माण भएको उनले जानकारी दिएका छन् । “पुनःनिर्माण भएकामध्ये पनि १२० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ”, इञ्जिनीयर देवकोटाले भने, “त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।” जिल्लामा यस वर्ष विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । “आवश्यकताका आधारमा दुईकोठे, तीनकोठे र चारकोठे गरी यो आवमा ६५ विद्यालय भवन निर्माण गर्ने योजना रहेको छ, त्यसका लागि काम शुरु भइसकेको छ”, उनले भने ।

उनले यो वर्षमा गोरखामा दुईकोठे विद्यालय भवन १०, तीनकोठे पाँच र चारकोठे ५० वटा निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । भवन निर्माणका लागि स्थानीय तहहरुले आवश्यकता आधारमा प्रस्ताव पेश गर्ने र त्यसैका आधारमा एकाइले छनोट गरी पुनःनिर्माणको काम अघि बढाउने इञ्जिनीयर देवकोटाको भनाइ छ ।

जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करिब रु ४० करोड बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.