३ महिनामा १० अर्बले लगानी प्रतिबद्धता बृद्धि, पर्यटन र सेवामूलकमा आकर्षण

  २०७६ कार्तिक २१ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । लगानीकर्ताले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् ।

उद्योग विभाग विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन पछि नेपालमा लगानीकर्ताको आकर्षण बढेको बताए । उद्योग दर्ता गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज र सरल भएकाले लगानीमा प्रतिबद्धता बृद्धि भएकोे उनले बताए ।

यता, नेपाल उद्योग वाणिज्य महासघंका सदस्य तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले पनि विदेशीले नेपालमा लगानीको वातावरण निर्माण हुँदै गएको बुझेको र सरकाले पनि लगानी मैत्री वातावरण निर्माण गर्दै गएकाले प्रतिवद्धतामा बृद्धि भएको बताए ।

१० अर्बले लगानी प्रतिबद्धता वृद्धि
चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा गत आर्थिक वर्षभन्दा १० अर्बले लगानी प्रतिबद्धता वृद्धि भएको छ । असोज महिनाको अन्त्यसम्ममा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको थियो ।

विदेशी लगानीमा पनि ५ अर्ब प्रतिबद्धता वृद्धि भएको छ । चालु आर्थिक वर्षमा ११ अर्ब ३ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ भने अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १३ करोड ८० लाखा रुपैयाँको मात्रै विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार ६८ अर्ब ३५ करोड ८० लाखको लगानीमा १७५ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । जसमा ८ हजार ४८४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख लगानीमा ८२ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उद्योग दर्ताको प्रतिबद्धता पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा ८२ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो भने चालु आवमा १७५ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ । तथ्याङ्क अनुसार उद्योग दर्ता गर्ने प्रतिवद्धता ९३ वटाले वृद्धि भएको छ ।

पर्यटन र सेवामूलकमा आकर्षण
पछिल्लो समय दर्ता भएका उद्योगहरुमा विभिन्न प्रकृतिका रहेका रहेका छन् । पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा लगानीकर्ताहरुको बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा प्रतिवद्धता गरेका लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रका छन् ।

लगानी प्रतिबद्धता आएका १७५ उद्योगमध्ये पर्यटन र सेवामूलक क्षेत्रमा ५३/५३ वटा छन् । उत्पादनमूलक ४४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ७ वटा, कृषि तथा वज्यजन्यमा ९ वटा, उर्जामा उद्योग ६ र निर्माण क्षेत्रमा ३ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.