म्याक्स मनीले हिमालय बैंकलाई ३४ करोड दिने भयो, २० करोड रुपैयाँ अझै अनिश्चित

  २०७६ कार्तिक २० गते १३:५२     विकासन्युज

काठमाडौं । विप्रेषण कारोबारमा विवाद गर्दै आएका नेपालको हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विवाद सल्टिएको छ । विवादमा परेको ४९ लाख अमेरिकी डलर (करिव ५४ करोड रुपैयाँ)मध्ये म्याक्स मनिले हिमालयन बैंकलाई ३१ लाख अमेरिकी डलर (करिव साढे ३४ करोड रुपैयाँ) भुक्तानी दिने समझदारी भएको छ ।

मंगलबार मलेसियामा भएको समझदारीमा बैंकका तर्फबाट अशोक राणाले र म्यास मनिको तर्फबाट हमिदविन अब्दुलाहाले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी पनि सहभागि थिए ।

दुई पक्षबीच अझै विवादमा रहेको १८ लाख अमेरिकी डलर (करिब २० करोड रुपैयाँ) सम्बन्धमा भने स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टबाट गराउने र त्यसको रिर्पोटका आधारमा कारोबार सेटल गर्ने समझदारी भएको म्याक्स मनिका हमिदविन अब्दुलाहाले जानकारी दिए ।

दुई संस्थाबीच व्यवसायिक कारोबार पुनः शुरु गर्ने समझदारी पनि भएको छ । एक वर्षअघि कारोबारमा विवाद भएपछि हिमालयन बैंकले म्याक्स मनिसँगको कारोबार भंग गरेको थियो । त्यतिमात्र होइन, म्याक्स मनिले हिमालयन बैंकलाई ५४ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा नगरेको जनाउँदै नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालभर कारोबार बञ्चित गरिदिएको थियो ।

विवादित रकमको ठूलो हिस्सा सेटल गर्ने र पुनः कारोबार शुचारु गर्ने समझदारीमा स्वीकृति माग गर्ने नेपाल राष्ट्र बैंकलाई पत्र लेख्ने पनि समझदारी भएको छ । दुई संस्थाबीच लेनदेनमा विवाद भएपछि उक्त विवाद केन्द्रिय बैंकसम्म पुगेको थियो । यो विवादमा राष्ट्र बैंकले हिमालयन बैंकको पक्ष लिदै हस्तक्षेपकारी भूमिका खेलेको थियो ।

राष्ट्र बैंकले मलेसियाको केन्द्रीय बैंकलाई पत्र लेखेर हिमालयन बैंकले पाउनु पर्ने भुक्तानी दिलाईदिन आग्रह गरेको थियो । त्यस्तै, मलेसियाको केन्द्रीय बैंकले पनि म्याक्स मनिलाई विवादित रकम ‘बैंक नागरा मलेसिया’ मा जम्मा गर्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.