सिमेन्ट उद्योगबीच उपहार दिने प्रतिष्पर्धा, क्यास ब्याकदेखि चाँदीका सिक्कासम्म

  २०७६ कार्तिक १३ गते १४:२०     विकासन्युज

काठमाडौँ । आफ्ना उत्पादनको बजार बिस्तार र प्रवद्र्धनका लागि सिमेन्ट उद्योगहरु ग्राहकहरुलाई उपहार दिने प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालका सिमेन्ट उत्पादकहरु आफ्ना उत्पादन खरिद गर्ने ग्राहकलाई क्यास ब्याकदेखि चाँदीको सिक्कासम्म उपहार दिने योजना ल्याएका छन् । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले आफ्ना ग्राहकलाई बजार मूल्यमा प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने घोषणा गरेको छ । उदयपुर सिमेन्टका सूचना अधिकारी रामबहादुर जिसीले भने–‘हामीले प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने व्यवस्था गरेका छौँँ ।’

अर्को सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगले निर्माण कार्यको समय शुरु हुन लाग्दा असोजबाटै प्रतिबोरा २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरी बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ रहेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले बताए ।

यता, शिवम् सिमेन्टले ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्रामको चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्रामको चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने घोषणा गरेको छ ।

यसैगरी मारुती सिमेन्ट उद्योगले पनि ‘चाँदीको झिलिमिली’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै दिने घोषण गरेको छ । अर्घाखाँची सिमेन्टले पनि ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहार दिने घोषणा गरेको छ ।

सिमेन्ट उत्पादनको ४ दशक
करिब चार दशकअघि सरकारी लगानीमा सञ्चालनमा आएको हिमाल सिमेन्ट उद्योगले नेपाल पहिलो पटक सिमेन्ट उत्पादन शुरु गरेको थियो । अहिले हिमाल सिमेन्ट बन्द भइसकेको छ । त्यसपछिका दिनमा सिमेन्ट उद्योग सञ्चालन हुने क्रम बढ्यो, नेपाली बजारमा बिस्तारै सिमेन्टको माग बढ्न थाल्यो । नेपाली उद्योगीहरुले नेपालमा सिमेन्टको उद्योगहरु आवश्यता छ भनेर सिमेन्ट उद्योगहरु लगानी शुरु गरे । त्यसैको फलस्वरुप नेपाल आज सिमेन्टमा आत्मनिर्भर हुन सफल भएको छ ।

सरकारले लगानी गरेर शुरु गरेको सिमेन्ट उद्योगले शुरुका चरणमा विभिन्न समस्या भोग्नु पर्यो । हिमाल सिमेन्टले नेपालीहरुलाई सिमेन्ट प्रयोग गर्ने सिकायो र उक्त उद्योग आफैँमा चाँही बन्द भयो । त्यसपछि नेपालमा विदेशी सिमेन्टले बजार पायो र विदेशबाट सिमेन्ट आयात बढ्न थाल्यो ।

करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योग स्थापना हुन शुरु भयो । नेपालमा नै नेपाली ब्राण्डका सिमेन्ट उत्पादनले विदेशी ब्राण्डको सिमेन्टलाई विस्थापित गर्दै नेपाली सिमेन्टले बजार लियो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने–‘पछिल्लो समय सिमेन्ट उत्पादकहरुले आफ्नो ब्राण्डको प्रोमोट गर्न उपहार योजना ल्याएका हुन् ।’

हाल नेपालमा वार्षिक ८० लाख टन हाराहारी सिमेन्ट उत्पादन भइरहेको छ । निजी क्षेत्रको लगानीमा खुलेका सिमेन्ट उद्योगका कारण सिमेन्टमा देश आत्मनिर्भर भइसकेको छ–अध्यक्ष थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.