तिलोत्तमा नगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई नगद अनुदान

  २०७६ कार्तिक ८ गते १४:०१     विकासन्युज

रुपन्देही । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर उक्त नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो ।

नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ । अनुदानमा साना किसानको पहुँच बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगरप्रमुख वासुदेव घिमिरेले बताएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिनेगरी दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो । किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जागेश्वरी चौधरीले बताए ।

अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी गरेको छ । तिलोत्तमामा हाल १९ दुग्ध उत्पादक सहकारी छन् । सहकारीको पछिल्लो आर्थिक वर्षको प्रतिवेदनकोे आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिएका हुन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को दूध सङ्कलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेकामा विभिन्न १४ सहकारीले शुक्रबार अनुदान रकम प्राप्त गरेका छन् । बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगरमा वार्षिक रु ५० लाख लिटर बढी दूध उत्पादन हुने गरेकामा गत आर्थिक वर्षमा सहकारीले कूल रु ३८ लाख ८५ हजार लिटर दूध सङ्कलन गरेका थिए ।

नगरको टिकुलिगढ दुग्ध उत्पादक सहकारीले वार्षिक सात लाख लिटरभन्दा बढी दूध सङ्कलन गर्दै आएको छ । सहकारीमार्फत तीन हजार बढी किसानले दूध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दूध सङ्कलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्याङ्कमा जनाइएको छ । सहकारीले अनुदान रकम किसानलाई भुक्तान गरी त्यसको भर्पाई विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ ।

यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले गरीब किसानलाई समेत पुग्नेगरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको बताए ।

अनुदान वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तिलोत्तमा नगर कमिटी सचिव लक्ष्मण खनाल, जिल्ला दुग्ध उत्पादक सङ्घका अध्यक्ष लेखनाथ पाण्डे, पञ्चामृत सहकारी संस्थाका अध्यक्ष माधव पाठकलगायतले नगरपालिकाको अनुदानले सबै किसानलाई लाभ पुग्ने भएकाले उत्पादनका आधारमा अनुदान वितरण प्रणाली उपर्युक्त रहेको जानकारी दिएका छन् ।

उनीहरुले सबै किसानको पहुँच पुग्नेगरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो काम प्रारम्भ गरेको बताउँदै दूधको लागत घटाउने अन्य कार्यक्रम पनि शुरु गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायत कार्यक्रम पनि चलाइने जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.