सिङ्गो गाउँ नै व्यावसायिक कृषिमा

  २०७६ कार्तिक ७ गते १६:१३     विकासन्युज

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ ।

प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत यहाँका किसान व्यावसायिक कृषिमा आबद्ध भएका हुन् । पहिले घरायसी प्रयोजनका लागि मात्र पशुपालन र तरकारी खेती गर्दै आएका गाउँलेहरु अहिले व्यावसायिक रुपमा कृषिमा संलग्न भएका छन् ।

कार्यक्रमबाट अहिले गाउँका ५० घरका तीनसय जनसङ्ख्या लाभान्वित भएका छन् । अहिले गाउँमा २५० बाख्रा र १०० रोपनी जग्गामा व्यावसायिक कृषिखेती गरिँदै आएको छ । यहाँका नेपाली सेनाबाट निवृत्त भएका भक्तबहादुर पाण्डे अहिले व्यावसायिक कृषिमा संलग्न भएका छन् ।

विसं २०६४ मा पेन्सनम निस्केपछि रोजगारीकै लागि १८ महिना साउदी अरब बसेका पाण्डे घर फर्केर बाख्रापालनमा लागेका उनले दुई हजार ५०० मा पाठी किनेर बाख्रापालन शुरु गरेका थिए । अहिले उनीसँग ४४ वटा बाख्रा छन् ।

रजस्थलकै ६३ वर्षीय प्रेमबहादुर कुवँरले चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती शुरु गर्न थालेका छन् । भर्खरै एउटै याममा एक क्वीन्टल गोलभेडा, १० क्वीन्टल आलु, काउली र खुर्सानी बिक्री गरेको कुँवरले बताए । गोलभेंडा रु ७०, आलु रु ३५ मा स्थानीय तथा अन्य बजारमा बिक्री हुने गरेको छ ।

उनले बुढेसकालमा शुरु गरेको कृषि कर्मले घरखर्च चलेकामा खुशी छन्।उनले भने, “स्मार्ट कृषि गाउँ समूह कार्यक्रमले हामीजस्ता न्यून आय भएका किसानलाई आत्मनिर्भर बनाएको छ ।”

गाउँमा कृषि गर्नेका पनि आफ्नै समस्या छन् । विशेषगरी उत्पादित कृषिजन्य सामग्रीले बजार नपाउनु, उचित मूल्य नपाउनु, बिचौलिया मौलाउनुलगायतका समस्याका कारण कृषकहरु चिन्तित देखिन्छन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका थम्मनबहादुर टण्डनले उत्पादित वस्तुले उचित मूल्य नपाउँदा समस्या भएको गुनासो पोखेका छन् ।

तरकारी तथा पशुपालक अर्का किसान थम्मन टण्डनले बजार नै आफूहरुको प्रमुख समस्या भएको बताउँछन्। ‘‘उत्पादन राम्रो गरे पनि बजारीकरणको समस्या छ, त्यसैमाथि उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । गाउँपालिकाले पैँचो पसल भनेर सस्तो पसल सञ्चालन गरेर किसानलाई धोका दिएको समेत गुनासो गरेका छन् ।

धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरेल किसानहरुको उत्पादनको उचित मूल्यसहित बजारीकरणको व्यवस्था गरिने बताउँछन्। भर्खर मात्र पैँचो पसल स्थापना गरिएको र पैँचो पसलले किसानका उत्पादन खरिद गर्ने उनको भनाइ छ ।

उनले किसानले उत्पादन बढाउनुपर्ने र त्यसको बजारीकरण तम्घासमा गरिने पोखरेलले बताए। उनले भने, अब किसानले आफूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार भएन वा उचित मूल्य पाइएन भन्ने गुनासो रहँदैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.