महासंघको विधान संशोधन विवादमा सहमतिको संकेत, छलकपट भए मुठभेड हुने

  २०७६ कार्तिक ७ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका विषयमा उत्पन्न विवादमा सहमति हुन सक्ने संकेतहरु देखिएका छन् । अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान विधि अर्को निर्वाचनदेखि लागू हुने गरी विधान संशोधन गर्ने महासंघका अध्यक्ष भवानी राणाले राखेको प्रस्तावले असन्तुष्टि पक्ष शान्त भएका छन्, तर अध्यक्ष राणाको प्रस्तावमा छलकपट हुन सक्ने आशंका उनीहरुको मनमा यथावत देखिएको छ ।

महासंघको केन्द्रीय नेतृत्वको निर्वाचनको लागि यसै वर्ष चैतको अन्तिम साता हुँदैछ । उक्त निर्वाचनलाई प्रभावित पर्नेगरी महासंघको विधान संशोधनको गर्न यहि कात्तिक २९ गते विशेष साधारणसभा बोलाईएको छ ।

महासंघका उपाध्यक्ष किशोर प्रधानका अनुसार विधान संशोधनका लागि करिब ३५ बुँदे प्रस्ताव विशेष साधारणसभामा पेस गरिदैछ । त्यसमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरेर अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष मतदानबाट गर्ने प्रस्तावमा ठूलो विवाद छ ।

प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरी विधान संशोधन हुँदा यसअघि प्रत्यक्ष मतदानबाट बरिष्ठ उपाध्यक्ष भएका शेखर गोल्छा फेरी चुनाव लड्नु पर्छ वा अध्यक्ष बन्ने प्रक्रियाबाट वाहिरिनु पर्छ । यस्तो अवस्थामा गोल्छा निर्वाचनमा भाग नलिने र माडवरी समूदायका सदस्यहरुले महासंघ परित्याग गर्ने बताइएको छ ।

महासंघमा हुने सम्भावित दुर्घटना रोक्न अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने, तर यसअघि भावी अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष बनेको गोल्छालाई अध्यक्ष बन्न रोक्न नहुने प्रस्ताव आफूले गरेको अध्यक्ष राणाले बताइन् । ‘संस्थालाई कमजोर बनाउने गरी विधान संशोधन गर्ने पक्षमा हामी छैनौं । सहमतिको लागि मैले मध्यमार्गी प्रस्ताव गरेको छु’ राणाले विकासन्युजसँग भनिन् ।

होहल्ला र मुडभेडको जोखिम
नेतृत्वले विधान संशोधनको प्रस्ताव सर्वसहमतिमा पेश नगरेमा महासंघको विशेष साधारणसभामा होहल्ला र मुडभेडको जोखिम रहेको महासंघका सदस्यहरु बताउँछन् । विधान संशाेधनका प्रस्तावित विषयहरूमा महासंघकाे अध्यक्ष र उपाध्यहरूबीच नै विवाद देखिएकाे छ । यस विषयमा महासंघकाे कार्यसमितिमा र पूर्व अध्यक्षहरूबीचमा भएका विवादहरू छरपस्ट रूपमा बाहिर आएका छन् ।

‘अध्यक्ष, पदाधिकारी र कार्यसमितिले सर्बसहमतिमा विधान संशोधनको प्रस्ताव ल्याएमा विशेष साधारणसभाले त्यसलाई सहमतिमा नै अनुमोदन गर्ने छ’ महासंघका प्रभावशाली एक नेताले भने–‘विधान संशोधन जस्तो महत्वपूर्ण प्रस्तावमा पदाधिकारी र कार्यसमितिबाटै विरोध भयो भने साधारणसभामा जम्मा हुने मास विभाजित हुन्छ र ठूलो विवाद हुन्छ ।’

विधान संशोधनको प्रक्रियामा समेत गम्भिर त्रुटिहरु देखिएकोले विवाद हुने देखिएको छ । महासंघको विधानमा संशोधन गर्न चाहेको विषयहरु कार्यसमितिले पास गरेर सदस्य संघहरुलाई तीन महिना अघि नै जानकारी दिनु पर्ने प्रावधानको पालना नभएको महासंघका  सदस्यहरुले बताएको छ । ‘कात्तिक २९ गते विशेष साधारणसभा छ । अझै पनि सदस्यहरुको राय सुझाव लिने प्रक्रिया जारी छ । विधानको धारा ६६ १(क) पालना भएको देखिएन’ उनीहरूकाे भनाइ छ ।

विधान संशोधनको विषयमा विवाद हुँदा ध्वनी मतको आधारमा पास वा फेल भएकाे निर्णय गर्ने वा मतदान नै गर्ने भन्ने विषयमा पनि महासंघका सदस्यहरु बीच विवाद देखिएको छ । ध्वनी मतका आधारमा सभाको सभापतिले पास वा फेल भनेको आधारमा निर्णय हुने एक थरीको भनाई छ भने मतदान नै हुनुपर्ने अर्कोथरीको विचार छ । विधानमा भने मतदान हुने व्यवस्था प्रष्ट रहेकाे देखिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.