अमेरिकाबाट फर्किए अर्थमन्त्री, यी विषयमा गरे छलफल

  २०७६ कार्तिक ६ गते १६:१८     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई बुधबार स्वदेश फर्किएका छन् । बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल भएको थियो ।

विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संयूक्त बैठकमा भाग लिनु भई त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएका थिए ।

यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताएका थिए । दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताउनु भएको थियो । साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको उहाँले धारणा राखेका थिए ।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान–प्रदान गर्ने सम्बन्धी एक बैठकको सहअध्यक्ष्यता गर्दै उहाँले नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अवस्थाबारे चर्चा गर्दै छोटो समयमा नै आर्थिक बृद्धि, रोजगारी सृजना, समावेशी विकास र आयको वितरण जस्ता पक्षमा संघीयता कार्यान्वयनले सकारात्मक सहयोग पुगेको धारणा राख्नु राखेका थिए । सो बैठकको सहअध्यक्ष्यता गर्नु भएका विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले अर्थमन्त्रीको सो धारणाप्रति समर्थन जनाउँदै नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रसंशा गरेका थिए । बैठकमा नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए ।

बिश्व बैंकका उपाध्यक्ष, दक्षिण एसियाका अन्य मन्त्री समेत सहभागी सडक सुरक्षा सम्बन्धी कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनु पर्ने डिजाइनिङ्ग तथा इन्जिनियरिङ्ग पक्ष, त्यहाँको भौगोलिक अवस्था, सवारी साधनको भारवहन क्षमता तथा त्यसको परिक्षण, सडक सुरक्षाको विषयमा सुचना प्रवाहको स्थिति एवम् सवारी साधन उपयोगकर्ताको ज्ञानको कमी, यातायात क्षेत्रको नियमन तथा त्यसको कार्यान्वयन र दुर्घटना पश्चातको उपचार गर्ने क्षमता जस्ता विषयमा ध्यान पुर्याउनु पर्ने बताएका थिए ।

अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एशियन ग्रोथ आउटलुक बैठकको छलफलमा भाग लिंदै उनले विश्वव्यापी बृद्धिमा अनिश्चितताका बावजुद पनि दक्षिण एसिया तीव्र गतिमा बृद्धि गर्ने क्षेत्रमा स्थापित भएको बताउंदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन स्वस्थ जनशक्तिको विकास, थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरेका थिए । वासिङटन भ्रमणको अवधिमा मिलिनियम च्यालेन्ज कर्पोरेशनका उच्च अधिकारी र अर्थमन्त्रीबीच द्धिपक्षीय बैठक गरी यसको हालसम्मको प्रगतिको अवस्था तथा यसको कार्यान्वयन पक्षको समीक्षा गरिएको थियो ।

त्यस अवसरमा ऋण पोर्टफोलीयो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनु पर्ने, उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो । त्यस्तै गरी, क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन बढाउन पर्यटन, उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समूहले काम सुरु गर्ने समझदारी भएको थियो ।

भ्रमणकै अवधिमा अर्थमन्त्रीसंग अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष समेतका उच्च पदाधिकारीहरुको बैठक भएको थियो । सो बैठकमा नेपालमा पर्यटन, सहरी पुर्वाधार विकास, माथिल्लो त्रिशुली १, माथिल्लो अरुण, कावेलीलगायतका परियोजनाहरुमा लगानीको संभावनाबारे चर्चा गर्दै केही स्टार्ट अप बिजनेशमा ईक्वीटीमा सहभागिता, वित्तीय संस्थाहरुमा ऋण प्रवाह गर्ने विषय तथा स्थानिय मुद्रामा वण्ड जारी गर्ने विषयमा छलफल भएको थियो । अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

वासिङटन भ्रमणका अवसरमा नै अर्थमन्त्रीसंग भेट गरी विश्व बैंककै ट्रेजरी विभाग हेर्ने उपाध्यक्षले नेपालमा टे«जरीबाट ऋण लगानी गर्न सक्ने बारे चर्चा गर्नुभएको थियो । बैंकका ट्रेजरी हेर्ने उपाध्यक्ष र अन्य पदाधिकारीहरुसंगको सो बैठकमा नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको विषयमा छलफल भएको थियो । अर्थमन्त्री खतिवडाले बचत र लगानीबीचको ठुलो अन्तर घटाउन विदेशी पूँजी परिचालन आवश्यक भएकोले सार्वजनिक, निजि साझेदारीको लगानीका क्षेत्रहरु तथा विश्व बंैकले ट्रेजरी मार्फत लगानी गर्न सक्ने सम्भावनाका विषयमा छलफल भएको थियो ।

त्यस्तै, एसियाली विकास बैंकका नेपाल हेर्ने तथा निजी क्षेत्र हेर्ने दुई उपाध्यक्षहरु समेतका उच्च पदाधिकारीहरुसंगको भेटमा उनले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै मेलम्ची खानेपानी, दुधकोशी जलबिद्युत आयोजनाको विकास, पुर्व पश्चिम राजमार्गको स्तरोन्नति तथा अन्य सडक आयोजनाहरुको निर्माणलगायत आगामी वर्षहरुमा बैंकसंगको साझेदारी विस्तारका संभावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.