सरकारको चालु खाता घाटामा, शोधनान्तर बचतमा

  २०७६ कार्तिक ६ गते १५:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको चालु खाता घाटामा रहेको छ भने शोधनान्तर बचत देखिएको छ । गत आवको अन्तिम महिना असारमा चालु खाता र शोधनान्तर दुबै घाटामा थिए ।

गत आवको अन्तिम महिना असारमा सरकारको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड घाटामा थियो भने शोधनान्तर ६७ अर्ब ४० करोड घाटामा थियो ।

चालु आवको भदौमा शोधनान्तर ८ अर्ब ८३ करोड बचतमा रहेको छ । साउनमा यस्तो बचत ६ अर्ब ५ करोड रहेको थियो । साउनमा ९ अर्ब ३७ करोड घाटामा रहेको चालु खाता भदौमा घाटा बढेर २१ अर्ब ७९ करोड पुगेको छ ।

शोधनान्तर मुलुक भित्रने र बाहिरिने रकमबीचको फरक हो । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा जाने पूर्व अर्थ सचिव डा. शान्तराज सुवेदीले बताए ।

शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्राप्रतिको विश्वास घट्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ ।

यद्यपि चालु आवको यो अवधिमा भने ७ करोड ८५ लाख अमेरिकी डलर बचतमा रहेको छ । गत आवको यो समीक्षा अवधिमा २३ करोड ९ लाख अमेरिकी डलर घाटामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.